प्रकाश अधिकारी
लाँकुरीभञ्ज्याड.(भक्तपुर) । भक्तपुरको दक्षिण पश्चिम(नैऋत्य) र ललितपुरको पूर्वोत्तर(इशान) सीमानामा रहेको रमणीय लाँकुरी भञ्ज्याड. अहिले पर्यटकीय स्थलको रुपमा विकसित भैरहेको छ । विगत एक बर्षदेखि यस क्षेत्रमा पर्यटन व्यवसायी आड. छिरिड. शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले दि टेरेस नामक रिसोर्ट सञ्चालनमा ल्याएको छ ।
स्थानको अवस्थितिका हिसाबले यो ठाउँ उत्तरी मोहडा फर्किएको छ । यहाँबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृखलाका मनमोहक दृश्य देख्न सकिन्छ । रिसोटको मुख्य प्रवेशद्धारबाट प्रवेश गर्ने वित्तिकै देखिने दृश्य यस्तो मनमोहक छ । रिसोर्ट र हिमालयको बीचको ग्याप कुनै समुन्द्र जस्तो देखिन्छ ।

रिसोर्टका फ्रन्ट साइटका दुई छत देखाउदै संस्थापक आड. छिरिड.ले भन्नुभयो, यी छलमा पानी भरेपछि तिनमा हिमालको छाया देख्न सकिन्छ । ४ दशकभन्दा लामो समयदेखि नेपालमा पर्वतारोहण,पदयात्रा,होटल व्यवसाय,हेलिकोप्टर र नियमित उडान सेवा सञ्चालनको अनुभव सगाल्नुभएका शेर्पाको यो एक सपना पनि थियो । नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकटमा नै शान्त वातावरणमा नेपालको हिमाली पर्यटनको दृश्यावलोकन सयन कक्षबाटै देखिने होटल र रिसोर्ट खोल्ने ।
उहाँको त्यो सपना ललितपुर र भक्तपुरको सीमा क्षेत्रको लाँकुरी भञ्ज्याड.मा आएर पूरा भयो । यो स्थानको चयन पनि उहाँले दुईतीन दशक अगाडि नै गर्नुभएको हो ।
रिसोर्टको आँगनमा उभिएर अतिथिहरुलाई देखाउदै भन्नुभयो, “यहाँबाट सिधा हेर्नुस् यो लामटाड. हिमाल, त्यो दोर्जे लाक्पा, उताको जुगल, उताको गौरी शंकर, त्यो शिशापाड.मा तिब्बतमा पर्छ । अलि उता माउण्ट एभरेष्ट पर्छ । त्यो हेर्न भने बाइनोकुलर चाहिन्छ । त्यसको व्यवस्था पछि गर्ने सोचमा छु ।”

“यता हेर्नुभयो भने त्यो गणेश हिमाल, यताको मनास्लु हो । अगाडिको डा.हर्क गुरुड. पिक देखियो । मनास्लू त्यसको पछाडि छ । उताको अन्नपूर्ण श्रृखला । त्यो उताको अलिअलि धमिलो देखिएको धौलागिरि हो ।”, नेपालका सबै हिमालको नाम,अवस्थिति र उचाई कण्ठै आउने हिमालका इन्साक्लोपिडिया भने पनि हुने आड.छिरिड.ले भन्नुभयो ।
रिसोर्टबाट रात्रिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ ।

४० रोपनी जमिनमा फैलिएको यो रिसोर्टमा दुई सुईट रुम छन् । लिभिड. रुप, बेड रुम, बाल्कोनी, ज्याकुजीसहितको यी कोठाहरु विलासी पर्यटक लक्षित छन् । सम्पन्न पर्यटकहरुलाई नै लक्षित गरेर १६ वट डिलक्स रुमको व्यवस्था छ । त्यस्तै गरी मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टाण्डर्ड रुमको व्यवस्था छ । यस्ता रुम २८ वटा छन् ।
हिमाली जलवायु परिवर्तनमा समेत गहन रुचि राख्नुहुने आाड. छिरिड.ले रिसोर्ट वरिपरिको वन जंगल नासिन नपाओस भनेर ८०० रोपनी जंगल लिजमा लिनुभएको छ । तारबार गरी संरक्षण समेत गरिएको यो जंगल प्रकृतिप्रेमी पर्यटकका लागि वरदान नै भएको छ भने रिसोर्टमा स्वस्थ र स्वच्छ हावाको प्रत्याभूतिको माध्यम पनि । यो जंगलभित्र मौसमी फलफूलका विरुवा रोपण गरी यहाँ आउने अतिथिलाई इच्छित फल टिपेर खाने प्रबन्ध मिलाउने उहाँको योजना छ । यही जंगलमा रुख विरुवालाई असर नपर्ने गरी तरकारी खेती गर्ने र रिसोर्टमा आउने पाहुनालाई विशुद्ध अर्गानिक तरकारी खुवाउने योजना पनि उहाँको रहेको छ ।
यही लिज जंगलको सिरानमा निजी हेलिप्याड पनि निर्माण गरिएको छ । एशियन एअरलाइन्स र स्काई एअरवेज सञ्चालन गरिसक्नुभएका शेर्पाले विशिष्ट अतिथिहरुलाई हेलिकोप्टरमार्फत रिसोर्ट ल्याउन सो हेलिप्याडको निर्माण गर्नुभएको हो । रिसोर्टभन्दा केही उचाईमा रहेको सो हेलिप्याडबाट काठमाडौ उपत्यका र हिमाली क्षेत्रको दृश्य अझ लोभलाग्दो देखिन्छ ।

रिसोर्ट तिब्बती शैलीमा निर्माण गरिएको रिसोर्टका सञ्चालक शेर्पाको भनाई छ । यहाँ आउने पाहुनाहरु अझ स्वस्थ्य, थप खुसी र संसारको विचित्रताको थप अनुभूति लिएर जान सक्नुभयो भने हामी आफ्नो कर्म फलदायी भएको संझने छौं । आगन्तुक पाहुनाहरुको सन्तुष्टि नै हाम्रो एकमात्र लक्ष्य हो ।
रिसोर्ट हिमालयन मोनाष्ट्रि अर्थात गुम्वाको शैलीमा बनाइएको छ । तल्ला गराहरुबाट भवनहरु उठाउदै भित्तामा ढेपेर माथि टप रुमहरु निकालिएको छ ।
रिसोर्टमा खुला स्वीमिड. पुल र ज्याकुजी पनि छ । पाहुनाहरुको मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन् । योगा,स्पा र जिमका अलग अलग कक्षहरु छन् ।

यहाँ नेपाली,भारतीय,कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरु पाइन्छ । अर्गानिक खाना रोज्नेहरुका लागि रिसोर्टको बारीमा उत्पादित सब्जीहरु उपयोग गरेर दक्ष भान्सेले बेजोड स्वादका विभिन्न परिकार पस्कन्छन ।

सरकारी वा गैर सरकारी तहका द्धिपक्षीय वा बहुपक्षीय वार्ता, संघ,संस्था,कम्पनीका बैठक,साधारण सभा,सम्मेलन र सेमिनार सहित विभिन्न पार्टी गर्ने सुविधाका लागि २ सय जना सहभागी बन्न सक्ने सुविधा सम्पन्न कन्फरेन्स हलको निर्माण समेत गरिएको छ । यो सम्मेलन हललाई आवश्यकता अनुसार विभाजन गर्न सकिने व्यवस्था पनि छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि जम्मा १६ किलोमिटरको दूरीमा रहेको लाँकुरी भञ्ज्याड.को दि टेरेस राजधानीको कोलाहल,अनावश्यक तनाव र हप्ताभरीको कामले थकित भएका शासक,प्रशासक,प्राविधिकका लागि थकान मेटेर आफूलाई पुनर्ताजगी बनाउनेहरुको लागि पहिलो रोजाई पनि हो ।
रिसोर्ट सञ्चालनमा आएको एक बर्ष पुगेको अवसरमा रिसोर्टका सञ्चालकहरुले काठमाडौंका पर्यटन व्यवसायीहरुलाई गत बुधबार रिसोर्टमा आमन्त्रण गरी प्राप्त सुविधाहरुको बारेमा जानकारी दिनुभएको थियो ।

प्रथम बार्षिकोत्सवका अवसरमा सञ्चालक अर्जुन शर्माले हिमालय र प्रकृतिप्रेमीका लागि गुणस्तरीय सेवा र सुविधासहित आतिथ्य प्रदान गर्ने रिसोर्ट तयार भएकोले यसलाई निरन्तरता दिन पर्यटन व्यवसायीहरुलाई पाहुना पठाएर सघाउन अनुरोध गर्नुभएको थियो ।




















