Prakash Adhikari December 26, 2022

 

काठमाडौं, ११ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उहाँहरुले राष्ट्रपति निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ ।

समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको थियो ।

समारोहमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्छ । त्यसैगरी, विभिन्न समाचार माध्यमले शपथ ग्रहणको प्रत्यक्ष प्रसारण गरेका थिए ।

मन्त्रीहरुको शपथ

शपथ ग्रहण समारोहमा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको पत्र वाचन गरिएको थियो । प्रधानमन्त्रीको शपथ ग्रहण सम्पन्न भएपछि प्रधानमन्त्रीको शिफारिसमा ३ उपप्रधानमन्त्रीसहित ७ सदस्यीय मन्त्री नियुक्तिको लागि प्रधानमन्त्रीद्धारा सिफारिश गरिएको पत्र वाचन गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले शिफारिस गर्नुभएका मन्त्रीहरुलाई राष्ट्रपतिले नियुक्ति दिनुभएको घोषणा गरियो ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणमा पहिले उपप्रधानमन्त्रीहरुलाई शपथ गराइएको थियो । त्यसपछि मन्त्रीहरुलाई ।

राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिनुभयो ।

त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

आज शपथ लिनुभएका ८ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी २ जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित ३ मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिनुभएको छ ।

शपथ ग्रहण गर्नुभएका प्रधामन्त्री र मन्त्रीहरुले आजै मन्त्रालयको पदवहाली गर्नुभएको छ । आजै साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

 

Share Now

Leave a comment.