काठमाडौं, १४ पौष। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको गाभिने प्रक्रिया सम्पन्न भएको छ । दुवै बैंक गाभिएर एकीकृत कारोबार यही पौष १७ गतेबाट हुने भएको छ।
दुवै बैंक गाभिएपछि बैंकको नाम कुमारी बैंक लिमिटेड हुने छ।
बैंकको प्रधान कार्यालय अहिले कुमारी बैंकको प्रधान कार्यलय रहेको टंगालमा रहने छ भने बैंंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल रहनुहुने छ । हाल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुभएका रामचन्द्र खनाल गाभिएर बनेको बैंकको वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनुहुनेछ ।
एकीकृत कारोबार थाल्दा दुबै निकट दूरीमा रहेका केही शाखाहरु बन्द गर्नुपर्ने अवस्था छ ।
एकीकृत कुमारी बैंक लिमिटेडको कुल शाखा संख्या ३ सय ५५ हुनेछ। ५८ स्थानमा दुवै बैककका शाखाहरु नजिक नजिक रहेका छन्।
दुई बैंक गाभिएर बन्ने एकीकृत कुमारी बैंकको पूँजी आधार भने सबल हुनेछ । बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।
जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।


















