Prakash Adhikari January 4, 2023

काठमाडौं, १९ पौष । ग्लोबल आईएमई बैंक लिमिटेडले स्थापनाको १६औँ वर्ष प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ।

सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ्ग सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताउनुभयो।

उहाँले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले २ सय ९२ शाखा, २ सय ७१ एटिएम काउन्टर, २ सय ८३ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो।

 

Share Now

Leave a comment.