काठमाडौँ, २९ पौष। नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही २० पौषमा नियमित अवकाशमा जाने सूचीमा हुनुहुन्छ ।
अवकाशमा जानुअघि उहाँलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिएर राखिएको हो ।
उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए ।
उहाँलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे भने खुलाइएको छैन । सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ ।
उहाँले उमेर विवादका विषयमा दिनुभएको मुद्दामा सर्वोच्च अदालतबाट उहाँको पक्षमा अन्तरिम आदेश भएको थियो । सो आदेश कार्यान्वयन भए उहाँ थप एक बर्ष पदमा बस्न पाउनुहुन्थ्यो ।
सैनिकको विभिन्न तहबाट टुंगो लागेको विषयमा अदातलमा पुगेर हस्तक्षेप गराउनुभएका शाहीलाई आर्थिक अनियमितताका विषयमा सोधपूछ गर्न नियन्त्रण गरिएको बताइएको छ ।


















