सानेपा(ललितपुर), २० पौष । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अझै पनि पार्टी सरकारमा पुनरागमन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापतिले अझै यस्तो विश्वास गरिरहनुभएको जानकारी दिनुभएको हो ।
उहाँले कांग्रेसले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताउनुभएको छ । पत्रकार सम्मेलन गर्दै उहाँले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको स्पष्ट पार्नुभयो । उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको महत्वाकांक्षा दोषी रहेको पनि बताउनुभयो ।
गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिनुभएको छैन।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आज भएको पत्रकार सम्मेलनमा प्रवक्ता महतलाई सञ्चारकर्मीले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।
त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भन्नुभएको थियो ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। तर केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौँ भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ।’
प्रतिनिधि सभामा ८९ सिट जितेको काँग्रेसले माओवादीसँग पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो। प्रचण्डले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्न मान्नुभएन । उहाँ नेकपा एमालेसहित ७ दलको समर्थनमा गत १० पौषमा प्रधानमन्त्री नियुक्त भैसक्नुभएको छ।
‘गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन’
काँग्रेस प्रवक्ता डा. महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन काँग्रेसले कोसिस गरे पनि सफल नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री खान गएको आरोप लगाउनुभयो ।
‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धता विपरीत थियो,’ महतले भन्नुभयो, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा काँग्रेस दोषी छैन।’
उहाँले निर्वाचनमा काँग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताउनुभयो । काँग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उहाँले बताउनुभयो।
‘काँग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौँ,’ उहाँले भन्नुभयो, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौँ। पार्टी सङ्गठन विस्तारलगायत काम गर्छौँ।’
डा.महतले अब आउने निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने बताृउनुभयो।
हामी हेरिरहेका छौं
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताउनुभएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँनुभयो । प्रवक्ता डा. महतले अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गर्नुभयो ।
अहिले सरकारमा गएका दलहरु आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । उहाँले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताउनुभयो ।


















