Prakash Adhikari January 4, 2023

 

कीर्तिपुर(काठमाडौं), २० पौष । नेपाल टी २० लिगमा आज भएका दुई खेलमा विराटनगर र लुम्बिनी  विजयी बनेका छन् ।

आजको पहिलो खेलमा फार वेस्ट युनाइटेडमाथि विराटनगर सुपर किंग्सले ६ विकेटको जित निकाल्यो । यो जित संगै विराटनगरले टी २० लिगको प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरको जितमा कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे । उनले ४२ बलमा चार चौका र दुई छक्का प्रहार गरे । प्रदीप ऐरीले ४०, हुसैन तलातले १७ र गौरान्शु शर्माले ११ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहे । फार वेस्टका करण केसी, प्रकाश जैसी, नूर अहमेद हस्मतुल्लाह साहिदीले समान एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाएका थिए । फगानिस्तानका हस्मतुल्लाह साहिदीले २७, करण केसीले अविजित १७, उमेर अलीले १६ र मिलिन्डा सिरीवर्दनाले १४ रन जोडे ।

विराटनगरका साहब आलमले तीन विकेट लिए । कियोन जोसेफले दुई विकेट लिँदा रोहितकुमार पौडेल, विवेक यादव र राज नाननले समान एक विकेट लिए ।

जितसँगै आठ खेलबाट ६ अङ्क जोडेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ । सात खेलबाट दुई अङ्क जोडेको फार वेस्टको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।

काठमाडौंमाथि लुम्बिनीको फराकिलो जित

ंं
आजै सम्पन्न पहिलो खेलमा काठमाडौँ नाइट्सलाई १ सय २ रनको फराकिलो अन्तरले हराउँदै लुम्बिनी अल स्टार्स नेपाल टी२० लिगको शीर्ष स्थानमा कायमै छ।

लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौ १५.४ ओभरमा ८१ रन जोड्दा अलआउट भयो।

काठमाडौलाई कम स्कोरमा रोक्न लुम्बिनीका ह्यारी टेक्टर, इशान पाण्डे र कुशल भुर्तेलले समान २ विकेट लिए। किशोर महतो, विपुल शर्मा र हरमित सिंहले एक एक विकेट झारे।

काठमाडौका लागि बसिर अहमदले जोडेको २२ रन नै सर्वाधिक रह्यो। कमल ऐरीले १६ रन थपे। कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५ रन बनाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो।

काठमाडौका खेलाडीहरु मैदान आउन ढिला भएपछि खेल ढिला गरी सुरु गरी १७ ओभरमा छोट्टाइएको थियो।

पहिलो विकेटका लागि ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले ९८ रनको साझेदारी गरे। ओपनर हरमित सिंहले सर्वाधिक ७० रनको योगदान दिए। २६ बलको सामना गरेका हरमितले ८ चौका र २ चौका हाने। लाहिरु मिलान्थाले २६ रन थपे। २९ बलमा मिलान्थाले २ चौका र १ छक्का हाने।

गुल्सन झा २१, ह्यारी टेक्टर १७ र कुशल भुर्तेल १५ रनमा आउट भए। विपुल शर्मा ५ र अनिल शा १६ रनमा नटआउट रहे। काठमाडौंका अविनाश बोहोरा एक्लैले ३ विकेट लिए। बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिए।

Share Now

Leave a comment.