Prakash Adhikari January 9, 2023

 

काठमाडौं, २५ पौष । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन्। सोमबार दुई बैंकबिच गाभ्ने तथा गाभिनेसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ।

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

प्रारम्भिक सम्झौता अनुसार दुइ बैंक बराबरी हैसियतमा गाभिने भएका छन्। सोमबार भएको सम्भौता अनुसार दुवै बैंक १ बराबर १ को शेयर अनुपातमा गाभिने सम्झौता गरेका हुन्। डिडिए रिपोर्ट आएपछि भने यो अनुपात केहि फरक पर्न सक्छ।

यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहनु भएको छ ।

दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरीक्षकको नियुक्ति पनि गरिने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ ।

मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक समान हैसियतमा गाभिए पछि नयाँ बन्ने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ।

हाल लक्ष्मी बैंकको निक्षेप कुल १ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ छ भने सनराइज बैंकको १ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ। कर्जा लगानी भने लक्ष्मीको १ खर्ब २९ अर्ब ६१ करोड र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ।

मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने लक्ष्य छ ।

यी दुई बैंकको मर्जर प्रकृया सकिएपछि वाणिज्य बैंकको संख्या २० वटामा झर्ने छ।

Share Now

Leave a comment.