काठमाडौँ, २६ पौष। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको छ ।
मङ्गलवार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताउनुभएको थियो । तर काँग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।
विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गर्नुभएको थियो । तत्कालै केन्द्रीय समिति बैठक बस्न असम्भव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको छ ।
आजै बिहान ११ : ३० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न काँग्रेसले एकपछि अर्को बैठक बोलाएको हो।
काँग्रेसभित्र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कि नदिने भन्नेमा नेताहरूले फरक फरक मत आएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि आजै संसदीय दल बैठक पनि बस्ने बताउनुभएको छ।


















