Prakash Adhikari January 10, 2023

काठमाडौँ, २६ पौष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले यही पौष १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदले समर्थन गरेका थिए ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुहुने भएको हो ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रधानमन्त्री प्रचण्डले आफू विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीमा उहाँले विश्वासको मत प्राप्त गर्ने कुरामा आफू विश्वस्त मात्रै नभई सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदहरूसँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

धुम्बाराहीस्थित सभापति देउवाको निवासमै सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।
जवाफमा सभापति देउवाले मङ्गलबार बिहान पार्टीको संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न आउनुभएको छलफलमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

सभापति देउवाले मङ्गलबार बिहान साथीहरूसँग छलफल गरेर निर्णय लिने प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिनुभएको उहाँले बताउनुभयो ।

आज बिहान सम्पन्न पदाधिकारी बैठकमा सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि अहिले नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसिरहेको छ ।

यसपछि संसदीय दलको बैठक समेत बस्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.