Prakash Adhikari January 19, 2023

 

पोखरा(कास्की), ५माघ । यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर ७२-५०० विमानको दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट नौ सदस्यीय विज्ञ टोली पोखरा आइपुगेको छ।

विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली मङ्गलबार नेपाल आएर बुधबार दुर्घटनास्थल पोखरा आइपुगेकोे छ।

एटीआर विश्व विख्यात जहाज निर्माता कम्पनी एअरबसको भगिनी संस्था हो ।

नेपाल आएको विज्ञ टोलीले बुधबार दुर्घटनास्थलको अवलोकन गर्नुका साथै यती एयरलाइन्सका कर्मचारी, पोखरास्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, दुर्घटनाको समयमा विमानस्थलमा खटिएका कर्मचारी, उद्धारमा संलग्न सुरक्षाकर्मी र स्थानीयवासी लगायतसँग छलफल गरिरहेको छ।

दुर्घटनास्थलको अवलोकनपछि केही सदस्य काठमाडौँ फर्किसकेका छन् भने केही पोखरामै छन्।
विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो देखाउँदै स्वेच्छिक रूपमा नेपाल आएको हो।

उहाँले दुर्घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न गठित आयोगले पनि काम सुरु गरिसकेको छ ।

दुर्घटनामा परेको जहाजको लगबुक अध्ययन, तथ्याङ्क सङ्कलनलगायतका सुरुवाती अनुसन्धानका काम अघि बढिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारीको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार अनुसन्धान बढिरहेको छ तर दुर्घटनाका कारण पहिल्याउन महत्वपूर्ण मानिएको ‘ब्ल्याक बक्स’ जाँचका लागि निर्माता कम्पनीको मुख्यालय फ्रान्स नै पठाउने वा अन्य देशमा पठाउने भन्नेबारे निर्णय भएको छैन ।

ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा सघाउन ब्ल्याक बक्सको रिपोर्ट कुर्नुपर्ने हुन्छ।

जहाज निर्माता कम्पनीको विज्ञ टोलीसँग समेत दुर्घटनाको सम्भावित कारणबारे जाँचबुझ आयोगले छलफल गर्ने भएको छ ।

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिसकेको छ। आयोगका सदस्यमा हवाई विज्ञका रूपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ।

सरकारले जाँचबुझ आयोगलाई दुर्घटनाबारे सत्यतथ्य बाहिर ल्याउन ४५ दिनको समयसीमा तोकेको छ।

आइतबार बिहान भएको दुर्घटनामा चालक दलका ४ जना र ६८ यात्रु थिए । दुर्घटनामा परेका मध्ये हालसम्म ७१ जनाको शव फेला परेको छ। विमान दुर्घटनामा परेका एक जनाको अवस्था अज्ञात छ।

Share Now

Leave a comment.