Prakash Adhikari January 20, 2023

काठमाडौं, ६ माघ। प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधिसभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना आज दिउँसो १ देखि ४ बजेसम्ममा दर्ता गर्न सकिनेछ ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाहरुलाई दर्ता क्रमानुसार दिउँसो सवा ४ बजे संसद भवन नयाँवानेश्वरमा प्रकाशित गर्ने कार्यतालिका रहेको सचिव योगीले जानकारी दिनुभयो ।

आज दर्ता भएको उम्मेदवारी अनुसार भोलि उपसभामुखको निर्वाचन हुनेछ ।

नेकपा माओवादीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन दलहरूले गरेको शक्ति बाँडफाँडको निर्णय अनुसार प्रतिनिधि सभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।

कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बिहान सिंहदरबारमा बस्दै छ ।

राष्ट्रपतिलगायतका पदमा नेपाली कांग्रेसले उम्मेदवार उठाउने नेताहरूले बताए पनि कांग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा हालसम्म निर्णय गरेको छैन ।

हिजो भएको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

Share Now

Leave a comment.