काठमाडौं, ८ माघ। नेपाली कांग्रेसको नेता शेखर कोइराला पक्षले पार्टीको १५ औं महाधिवेशनलाई लक्षित गरी अगाडि बढ्ने तयारी गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकको पूर्व आज बिहान अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बसेको कोइराला समूहको भेलामा उपसभापति धनराज गुरुड.ले पार्टीलाई वर्तमान सभापतिले सही दिशा दिन नसक्नुभएकोले १५ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो समूहले रणनीति तयार पार्नुपर्ने बताउनुभएको थियो ।
उहाँले नेता डा. शेखर कोइरालालाई भावि सभापति घोषणा गरेर जाँदा पार्टी कार्यकर्तामा नयाँ उत्साह ल्याउन सकिने बताउनुभएको थियो ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभाको निर्वाचनको परिणाम आएपछि निर्वाचनको नतिजा समीक्षा र त्यसपछि सरकार गठन, प्रधानमन्त्रीको विश्वासको मतमा पार्टी संसदीय दलको निर्णय, प्रतिनिधि सभा र प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन तथा प्रदेश सरकार गठन, मुख्यमन्त्रीहरुको विश्वासको मतमा नेपाली कांग्रेसले लिएको अडान, प्रदेश सभामुख र उपसभामुखको निर्वाचन लगायतका विषयमा छलफल गर्न बसेको कोइराला समूहको भेला सबै विषयमा स्पष्ट दृष्टिकोण बनाउन भने असफल रहेको बताइएको छ ।
समग्र विषयमा समूहको घारणा बनाउन मंगलबार पनि बैठक बस्ने बताइएको छ ।
आजको बैठकमा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसक्दा सरकार बनाउने कार्यमा चुकेको भन्दै सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको थियो ।
कोइराला पक्षले नृेपाली कांग्रेसलाई हदैसम्मको धोका दिएर नेकपा एमालेसंग गर्धन जोड्न पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ लाई विश्वासको मत दिनु गल्ती भएको पनि कोइराला पक्षको ठहर छ ।
कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेकोले आफूहरूले छलफल गरेको बताउनुभएको छ । पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेकोले छलफल गरएिको बैठकपस्चात् नेता भण्डारीले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनमा आफ्नो समूहको सभापति घोषणा गरेर जानुपर्ने तर्क राख्नुभएको थियो ।
उहाँले डा.शेखरलाई अहिले नै १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेर जान उपयुक्त हुने तर्क राख्नुभएको थियो ।
बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा केही जिल्ला सभापतिहरूको समेत सहभागिता थियो ।
पार्टीको सक्रियता र राजनीतिक साख कमजोर भइरहेको भन्दै आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने नेताहरूले बैठकमा सुझाव दिएका छन् ।
यो पक्षको बैठक मंगलबार विहान पनि बस्ने भएको छ ।


















