Prakash Adhikari January 23, 2023

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपति पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासस्थान धुम्बराहीमा आज बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले दिनुभएको जानकारी अनुसार बैठकले राष्ट्रपति निर्वाचनलाई २९ माघ पछि नलैजान पनि भनेको छ। महतले कानुनमा समस्या भए सुल्झाएर पनि माघ २९ भित्रै राष्ट्रपति चुनाव हुनुपर्ने बताउनुभयो।

“हामीबीच राष्ट्रपति निर्वाचन केन्द्रित छलफल भयो। राष्ट्रपति निर्वाचन समयमा हुनुपर्छ”,  प्रवक्ता डा. महतले भन्नुभयो, “ऐनमा समस्या छन् भने समयमा समाप्त पार्नुपर्छ भन्ने कुरामा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ।”

उहाँले २९ माघ भित्र राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने कोसिसमा सबै लाग्नुपर्ने बताउनुभयो। “प्राविधिक समस्यालाई हटाउने काम सरकारको हो। माघ २९ भन्दा पर लगियो भने कुनै हालतमा स्वीकार्दैनौँ”, उहाँले भन्नुभयो, “उता लैजाँदा समस्या हुन्छ। प्राविधिक कुरा सरकारले मिलाओस्।”

महतले आइतवार भएको डा. शेखर कोइराला समूहको भेलाको निष्कर्षलाई लिएर भ्रम फैल्याइएको पनि दाबी गर्नुभयो।

देउवा निवासको बैठकमा सहभागी डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको भनेर आएको समाचार सही नभएको भन्नुभएको पनि महतले सुनाउनुभयो।

“सरकारलाई विश्वासको मत दिनु गलत भयो भन्ने इतर समूहको हिजोको निष्कर्षसम्बन्धी समाचार भ्रामक हो भनेर ड. शेखरले बैठकमा भन्नुभएको छ”, प्रवक्ता डा. महतले भन्नुभयो, “उहाँले भन्दै नभनेको र हुँदै नभएको कुरा सार्वजनिक भयो भन्नुभएको छ। त्यस्तो कुरा हिजोको बैठकमा भएको छैन। राष्ट्रपतिको निर्वाचनमा हामी एक ठाउँमा छौँ।”

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रपतिमा आफ्ना उम्मेद्वारलाई विजयी गराउन पार्टीले संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुसंग सहयोग माग्ने पनि बताउनुभयो ।

 

Share Now

Leave a comment.