काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन सन्दीप लामिछाने बिहीबारदेखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन्।
गत पौष २९ मा ९९ दिन लामो कारागार बसाइपछि उच्च अदालत पाटनको आदेश अनुसार जमानतमा छुटेका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएको छ।
माघ १७ मा पोखरामा बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले उनको निलम्बन फुकुवा गरेको थियो।
निलम्बन फुकुवा नभएकोले क्याने सन्दीपलाई नेपाल,नामिबिया र स्कटल्याण्डबीचको त्रिदेशीय सिरिजको लागि प्रारम्भीक टोलीमा राखेको थिएन।
तर पोखरा बैठकले निलम्बन फुुकुवा गरेसंगै उनलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
आज राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेल प्रशिक्षक र फिटनेस टोलीसँग सम्पर्क गरेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दासले सन्दीपले खेल्न सक्ने वा नसक्ने निर्णय फिटनेस र उनको अवस्था बारे छनोट समितिले निर्धारण गर्ने बताएका छन् ।
फिटनेशमा उनी खेल्न सक्ने अवस्था देखिएमा उनलाई त्रिदेशीय टिममा समावेश गरिने बताइएको छ ।
आगामी फागुन २ गते कीर्तिपुर मैदानमा हुने विश्व क्रिकेट लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डविरुद्धको त्रिदेशीय सिरिज हुँदै छ ।
क्रिकेटसम्बन्धी न्यूज पोर्टलहरुले सन्दीपले सो सिरिज खेल्न सक्ने जनाइसकेका छन् । नेपालबाहिर जान भने सन्दीपलार्ई पावन्दी लागेको छ ।


















