काठमाडौं, २० माघ । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ।
किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने प्रस्ताव हो भन्ने कांग्रेस नेताहरूको बुझाइ छ।
कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादी नेताहरूले त्यसलाई ‘राष्ट्रिय सहमति’को आधारको रूपमा प्रस्तुत गरिरहेका छन्।
त्यस्तै ‘सरकार गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको शैली प्रधानमन्त्री प्रचण्डलाई बिझाएको’ उल्लेख गर्दै शक्ति सन्तुलनका दृष्टिले पनि राष्ट्रपतिमा सहमति आवश्यक रहेको भन्ने कतिपय माओवादी नेताको सार्वजनिक अभिव्यक्तिले झन् स्पष्ट पारेको छ, माओवादीले राष्ट्रिय सहमति नेपाली कांग्रेसको नाममा खोज्न चाहेको छ।
पहिले गठबन्धन तोड्ने उद्देश्य ?
तर राष्ट्रपतिमा आकाङ्क्षा राखिरहेको सबैभन्दा ठूलो दल कांग्रेस आफैले अर्को आकाङ्क्षी नेकपा एमालेसँग राष्ट्रिय सहमतिको निम्ति कुनै पहल गरेको देखिन्न।
कांग्रेसका प्रवक्ता प्रकाश शरण महत भन्नुुहुन्छ, “एमालेले पनि हामीले जस्तै आफै हुनुपर्छ भनिरहेको छ, त्यसबारे एमालेसँग छलफल गरेका छैनौँ।”
अर्थात् कांग्रेस माओवादीलाई एमालेबाट अलग गर्न चाहन्छ। आफूलाई राष्ट्रपतिमा माओवादीले साथ दिएमा गठबन्धन फुट्ने उसको विश्वास हो।
र, त्यो कुरा रामचन्द्र पौडेल लगायतका कांग्रेस नेताहरूले सार्वजनिक रूपमा भनिरहनुभएकै पनि छ।

जबकि नयाँ सत्ता समीकरण गर्दा राष्ट्रपतिमा नेकपा एमालेलाई सघाउने सहमति जनाएरै प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो।
नाम उल्लेख नगर्ने सर्तमा एक माओवादी नेताले भन्नुभयो, “माओवादी अस्थिर नभएको भए अस्तित्व नै सकिने थियो। तर पार्टीको अस्थिरपना प्रगतिशील कि पश्चगामी भन्ने प्रश्न हो।”
उहाँका अनुसार माओवादी छलफल र बैठकहरूमा पनि त्यो विषयमा चर्चा र विश्लेषण भएको पनि छ।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेद्वार को ?
कांग्रेसले राष्ट्रपति पाउँदा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा चलिरहेको छ।
तर सभापति देउवालाई नै राष्ट्रपति बन्न आग्रह भएको कुरा पनि उठेको केही नेताहरूले बीबीसीलाई बताउनुभएको छ।
त्यो अवस्थामा पौडेललाई संसदीय दलको नेता बनाउने विषयमा पनि चर्चा भएको कांग्रेसका एक नेताको भनाइ छ।
सभापति नै राष्ट्रपति बनाउने कुरा पार्टीमा स्वीकार्य नहुने बताउँदै देउवा खेमाका ती नेताले भन्नुभयो, “त्यसको निम्ति सभापति त सर्वस्वीकार्य हो दल बाहिर पनि। तर हामीलाई गाह्रो हुन्छ। पार्टीमा साथीहरूले मान्दैनन्।”

पार्टी प्रवक्ता महतले पनि देउवा राष्ट्रपति बन्ने सम्भावना नरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “अरूले उहाँको बारेमा सोच्ने कुरा बेग्लै कुरा हो तर उहाँ सक्रिय पार्टी नेतृत्व छाडेर राष्ट्रपतिमा जान इच्छुक हुनुहुन्न।”
देउवा फेरि प्रधानमन्त्री ?
कतिपयका बुझाइमा देउवा राष्ट्रपति भएमा कांग्रेसको तर्फबाट यही बीचमा प्रधानमन्त्री बन्ने खेल अन्त्य हुनसक्छ। र, त्यसको सिधा लाभ प्रधानमन्त्री प्रचण्डलाई पुग्न हुनसक्छ।
सत्ता गठबन्धनभित्र दबाव बढाएर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने गरी एमालेसँग लिखित सहमति गर्ने प्रयासमा रहेको सत्तापक्षका केही नेताहरूको आशङ्का छ।
कांग्रेसको विश्वासको मतले प्रचण्डलाई बलियो बनाएकाले पनि त्यस्तो आशङ्कालाई बल दिएको ठानिन्छ।
तर कांग्रेस नेताहरू प्रचण्ड पुरानै गठबन्धनमा फर्किनेमा निकै आशावादी सुनिन्छन्।

ओली र प्रचण्ड
नाम खुलाउन नचाहने बीबीसीसँग कुराकानी गरेका ती नेताहरूले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई साथ दिने बताउनुभएको छ।
एक थरी नेता त प्रचण्डका निम्ति सत्ता सहयात्राका निम्ति ओलीभन्दा देउवा सहज भएको भन्दै प्रधानमन्त्रीमा आलोपालो गर्न समेत प्रचण्ड तयार हुनेमा विश्वस्त सुनिन्छन्।
सत्ताधारीबीच चरणबद्ध विवादको कारण
उनीहरूका भनाइमा गृह मन्त्रालयको विवादको सृजना र त्यसै कारण स्वतन्त्र पार्टीको असन्तुष्टि अनि राप्रपाका मन्त्रीलाई गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताविरुद्ध बोल्ने छुट नभएको प्रधानमन्त्रीको भनाइ र त्यसलाई लिएर संसद्मा भएको वाद प्रतिवाद नयाँ समीकरणको निर्माणका खुड्किला हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढिलोचाँडो सरकार छोड्ने निर्णय गरेमा त्यसै योजनाअनुसारको पहिलो सफलता हुनेछ र राष्ट्रपति चुनावमा पुगेर निष्कर्षमा पुग्ने उनीहरूको विश्वास छ।
एमाले नेताहरूले भने माओवादीबाट सहमति नतोडिनेमा आफूहरू विश्वस्त रहेको बताउन छाडेका छैनन्।
तर माओवादीभित्र वर्तमान समीकरणका पक्षधर कमजोर रहेको भन्दै त्यो पनि नयाँ समीकरणको पक्षमा बलियो आधार बनेको कांग्रेस नेताहरूको बुझाइ पाइन्छ।(बीबीसीबाट)


















