काठमाडौं, २२ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीका तर्फबाट उम्मेद्वारी दिनुहुने सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने संभावना बढेको छ ।
प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि माओवादी उम्मेदवार अर्याललाई समर्थन गर्ने निर्णय गरेकोले उहाँ निर्विरोध निर्वाचित हुने संभावना बढेको हो ।
नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेवारी दिने र विजयी गराउने रणनीति तय गर्न शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुका शीर्ष नेताहरुको बैठक राखेको थियो ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा भएको सो बैठक बिना निस्कर्ष टुंगिएको थियो ।
सत्ता गठबन्धनले राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उठाउने निर्णय गरेकोले सत्तागठबन्धन दलका तर्फबाट पनि उहाँ साझा उम्मेदवार हुनुहुने भएको छ ।
लामो समयसम्म नेकपा (एमालें)को राजनीतिमा सक्रिय अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको थियो । राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय सभामा सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ ।
सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका ३, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् ।
राष्ट्रिय सभामा एक जना स्वतन्त्र र तीन जना नेपाल सरकारको शिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसदहरु छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ ।
आज दर्ता भएका उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भने प्रस्ताव सोमबार माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुनेछ ।
उम्मेदवारका प्रस्तावक र समर्थकले उम्मेदवारीको प्रस्तावमा सङ्क्षिप्त छलफल गर्ने र त्यसपछि क्रमअनुसार दर्ता भएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।
एकल उम्मेदवारी परेको अवस्थामा अध्यक्षले एकल प्रस्ताव दर्ता भएको उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ । अहिले परिस्थिति निर्विरोधतर्फ मोडिइरहेको छ ।


















