Prakash Adhikari February 5, 2023

काठमाडौं, २२ माघ । रवि लामिछानेलाई नेपाली समाजले चिनेकै टेलिभिजन पत्रकारिताबाट हो ।

पत्रकारितालाई भर्याड. बनाएर विदेशिएर, स्वदेश फर्केर पनि अवैध रुपमा टेलिभिजन पत्रकारिता गरेर राजनीतिमा हाम्फाल्नुभएका रविले छोटो समयमा राजनीतिमा अपत्यारिलो छलाड.मार्नुभयो ।

प्रेस काउन्सिलले विदेशी राहदानीमा नेपाल आएर श्रम स्वीकृति बेगर पत्रकारितामा काम गरेको र वैधानिक रुपमा नेपाली नागरिकता पुनःप्राप्ति नगरेकोमा सचेत गराउँदा गराउँदै उहाँले मिडिया शक्तिको आडमा बल मिच्याई गर्नुभयो । अवैध नागरिकताका आधारमा दल दर्ता गर्नुभो । उम्मेद्वार हुनुभो । चुनाव जित्नुभो । अवैध नागरिकताका बारेमा परेको रिटमा उहाँको पूर्व मिडिया शक्ति र चुनाव जितेर हासिल गरेको विधायकी र उपप्रधानसहित गृहमन्त्रीको शक्ति भने काम लागेन ।उहाँको सबै राजनीतिक पद गयो ।

नागरिकता पुनःप्राप्ती गरेपछि उहाँँ पार्टीको सभापतिमा पुनः नियुक्त त हुनुभयो । तर राजकीय शक्ति गुमाउनुभएका रविलाई गैरसांसदका रुपमा गृहमन्त्री बनाउन प्रधानमन्त्री तयार नभएपछि उहाँले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट आज गठबन्धन सरकारबाट बाहिरिने निर्णय गर्नुभयो ।

शक्ति गुमाएको झाेंकमा भूतपूर्वपत्रकार रविले कार्यरत पत्रकार र मिडिया मालिकहरुमाथि तथानाम आक्रोश पोख्नुभयो ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानीको मुद्दामा फसाउन मिडिया मालिक र सम्पादकहरु एक ठाउँमा जुटिसकेको दाबी गर्नुभयो ।

“राहदानीमा फसाउन सकिन्छ कि भनेर १२ भाइ मिलिसकेका छन्। १२ भाइलाई पासपोर्टको कुरा छ। म जेल परे पनि, मरे पनि, बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छु”, उहाँले भन्नुभयो, “जनता वाक्क दिक्क छन्। हामीले यस पटक मन्त्री गृहमन्त्री लियौँ। तर अर्को चुनावमा हामी प्रधानमन्त्री हुने गरी तयारीमा लाग्छौँ।”

रविले नेपालका केही सम्पादक र मालिकहरुको नामै लिएर आक्रोश पोख्नुभयो। “आज नेपाली जनतालाई दुस्ख पर्‍यो भने युवराज कँडेल र रमेश प्रसाईहरुलाई खोज्छन्। अरुलाई खोज्दैनन्। पत्रिका तपाईंहरुले चलाउने हो भने मैले देश चलाउने हो”, उहाँले भन्नुभो, “चितवनमा चुनाव लड्ने हो भने कनकमणि दीक्षित, दिलभूषण पाठक, धर्मराज भूसाल र अमित ढकाल पनि आउनुस्। चुनौती स्वीकार्न म तयार छु।”

उहाँले पासपोर्टमा फसाउन सकिन्छ भन्नेहरुलाई यो मुद्दा आफैं लडेर देखाउने पनि बताए। “पासपोर्टमा फसाउन सकिन्छ भनेर लाग्नेहरुलाई म भन्छु म आफ्नो मुद्दा आफैं लड्छुु”, उहाँले भन्नुभयो, “अलरेडी बाहिर आएको कुरामा म केही पनि गर्न सक्दिनँ। नागरिकताका कारण केही नहोला भन्ने आशा त थियो नि तर सबै गएको छ। चित्त त दुखेको छ। त अब चुप लागेर बसेर हुँदैन।”

उहाँले आफूले गृहमन्त्रालयमा रहँदा १२, १३ वर्षमा नभएको काम १२ मिनेटमा गरेको दावी गर्नुभयो। “फेरि बोलाए भने गृहमन्त्रालयमा जान तयार छुु”, रविले भन्नुभयो, “प्रहरीको सरुवा र बढुवा, सीडीओ सरुवामा खान पल्केका थिए। तर त्यो कुरालाई हामीले रोकेका थियौँ।”

उहाँले केही मिडिया मालिकहरुको नामै लिएर सरुवा बढुवामा चासो लिएको पनि बताउनुभयो। आजको पत्रकार सम्मेलनमा रविले आफूविरुद्ध लागेको भन्दै मिडिया मालिकहरु र सम्पादकहरुमाथि लगातार आक्रमण गरिरहनुभयो।

रविले केही पत्रकारहरुलाई जँड्याहाको समेत संज्ञा दिनुभयो। नेपाली पत्रकार जगतको चर्को आलोचनामा उत्रिएका रविले सेटिङमै पैसा लिएर समाचार लेख्ने गरेको समेत आरोप लगाउन भ्याउनुभयो।

मिडिया मालिकहरुले प्रहरी हवलदारको सरुवामा पनि चासो देखाउने गरेको उहाँको जिकिर थियो।

 

Share Now

Leave a comment.