Prakash Adhikari February 9, 2023

धनगढी(कैलाली),२६ माघ । नेकपा एमालेले नेतृत्व गरेको सुदूरपश्चिमको प्रदेश सरकार विश्वासको मत जुटाउन नसकेर पतन भएको छ ।

गत पौष २७ गते सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम सरकार ढलेको हो ।

मुख्य मन्त्री राजेन्द्रंिंसंह रावलले प्रदेश सभामा पेश गर्नुभएको विश्वासको प्रस्ताव अस्वीकृत भएको थियो ।

सभामुख भीमबहादुर भण्डारीले ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन गराउनुभएको थियो। विश्वासको मतको प्रस्तावको पक्षमा भन्दा विपक्षमा धेरै मत देखिएपछि सभामुख भण्डारीले रावल नेतृत्वको सरकार विश्वासको मत पाउन असफल भएको घोषणा गर्नुभएको थियो ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिइ तटस्थ बसिदिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्नुभएको थियो। त्यसपछि उनले विश्वासको मतमाथिको प्रस्तावलाई छलफलका लागि गरेको प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको थियो।

नागरिक उन्मुक्ति पार्टीलाई केन्द्रीय नेताहरुले मनाएर पठाइदिन्छन कि भने विश्वासको मतका लागि निर्धारित बिहीबारको बैठक दुई पटकसम्म स्थगित गरिएको थियो। तर रेशम चौधरीलाई छाड्नुपर्ने नागरिक उन्मुक्तिको पार्टीको माग पूरा भएन र सो पार्टीका सांसदहरु तटस्थ बसिदिंदा मुख्यमन्त्री रावलले विश्वासको मतको पक्षमा बहुमत जुटाउन सक्नुभएन।

गत पौष २७ मा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बन्नुभएको थियो।

तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको माग पूरा गर्न नसक्दा मुख्यमन्त्री रावलको सरकार एक महिनामा नै ढल्यो।

 

Share Now

Leave a comment.