धनगढी(कैलाली), २६ माघ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको छ।
प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाहलाई प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
यस पहिले आज प्रदेश सभामा विश्वासको मत हासिल गर्न नसक्नुभएका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख जोशीसमक्ष राजिनामा दिनुभएका थियो ।
मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र लिनुपर्ने विश्वासको मतको प्रस्तावमा मतदान गर्दा मुख्यमन्त्रीको पक्षमा बहुमत जुटन सकेन । उहाँलाई मुख्यमन्त्री बन्न प्रस्ताव गर्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै मतदानमा तटस्थ बस्ने नीति लिएर प्रदेश सभा बैठकमा अनुपस्थिति जनाए पछि एमाले नेतृत्वको सत्तागठबन्धन सरकार ढल्न पुगेको थियो ।
सत्ताबाट बाहिरिएको डेढ महिनामै कांग्रेसले प्रदेशबाट सत्तामा पुनरागमन गरेको छ । यो पनि संयोगै हो कि कांग्रेसको सत्ता पुनरागमन पार्टी सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट भएको छ ।
संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुुनुभएका कमलबहादुर शाहले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ। त्यतिबेलासम्म केन्द्रमा पनि राजनीतिक समीकरण बदलिने अपेक्षा गरिएको छ । नभए नागरिक मुक्तिसंग कुनै खालको समझदारी कांग्रेसले प्रादेशिक र संघीय तहमा गरेर आफ्नो पक्षमा बहुमत जुटाउने विश्वास गरिएको छ ।
५२ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ।
प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र एक । एक सांसद छन्।
नेपाली कांग्रेस,समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद एकजुट हुँदा सुदूर पश्चिममा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनको बलियो सरकार दिन सक्ने छ ।


















