काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ।
राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले तयारी गरिसकेको छ। शुक्रबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रपतिले गरेको सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभएको छ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज (माघ २७) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने हुनुभएको हो। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।
यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन जारी छ।
पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो।
यस्तै राष्ट्रपति भण्डारीले शनिबार दिउँसो ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्ने कार्यक्रम बनेको छ। (रासस।नेपाल खबर)


















