कीर्तिपुर(काठमाडौं), ५ फागुन । घरेलु टोली नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ ।
खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल आइसीसी विश्वकप लिग–२ मा शीर्षस्थानमा रहेको स्कटल्यान्डलाई पराजित गरेर आफ्नो ओडीआई मान्यता कायम राख्ने लक्ष्यमा रहेको छ ।
घरेलु मैदान र घरेलु दर्शकको साथ र समर्थनमा नेपाल स्कटल्याण्डलाई पराजित गर्न अग्रसर रहेको छ । स्कटल्याण्ड बलियो टिम हो तर अपराजेय शक्ति होइन । नेपालले गत बर्ष जुलाई १३ मा स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न आईसीसी वल्र्डकप लिग २ अन्तरगतकै ९३ औं खेलमा १ सय ४९ बल बाँकी रहदै ५ विकेटले खेल जितेको थियो ।
सो खेलमा नेपालका आशिफ शेखले ६१ बलमा ७२ रन बनाएका थिए । खेलमा रोहित पौडेलले ३४ र कुशल भूर्तेलले २७ रन बनाएका थिए । सो खेलमा स्कटल्याण्डलाई रोक्न नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले ३। ३, सन्दीप लामिछानेले २ तथा दीपेन्द्रसिंह ऐरी र करन के.सी.ले १ । १ विकेट लिएका थिए ।
घरेलु मैदानमा भएको पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गर्दै २ सय ८६ रनको विशाल लक्ष्य हासिल गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ ।
आजको खेलमा नेपालको नेतृत्व कप्तान रोहित पौडेल र स्कटल्यान्डको नेतृत्व कप्तन रिची बेरिंग्टनले गर्नेछन् ।
नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडि नै ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।
नामिबियालाई हराउन ओपनर कुशल भुर्तेलले १ सय १५ र कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेलेका थिए । नेपाल अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबाट आजको खेलमा सानदार प्रदर्शन चाहन्छ । आजको नतिजा ब्याटिड.मा यी चार खेलाडीको प्रदर्शनमा निर्भर गर्ने छ ।
नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई राख्ने निश्चित जस्तै छ । पहिलो खेलमा शून्यमा आउट भएका आसिफ आजको खेलमा चल्न सक्छन् । ज्ञानेन्द्र तेस्रो र रोहित चौथो नम्बरमा हुनेछन् ।
दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल मध्यक्रम सम्हाल्नेछन् । करण केसी र सोमपाल कामीले तल्लोक्रमको भूमिका पाउनेछन् ।
बलिड.मा नामिबियाविरुद्ध पाँच विकेट लिएका करण र तीन विकेट लिएका सन्दीप लामिछाने उच्च मनेबलका साथ मैदानमा उत्रिने छन् ।
नामिबिया विरुद्ध शतक प्रहार गरेका नेपालका कुशल भुर्तेल र आशिफ शेखलाई टिकाउने रणनीति लिन सक्यो भने नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई पराजित गर्न सक्छ ।
स्कटल्यान्डको टोली ः
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप९कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।


















