Prakash Adhikari February 17, 2023

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले समर्थन गरे कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।

उहाँले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने बताए। महतले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताउनुभयो।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो।

राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न उहाँले आग्रह गर्नुभयो।

डा. महतले राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको बताउँदै संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको बताउनुभयो।

कांग्रेस प्रवक्ता डा. महतले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको बताउनुभयो।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनुपर्ने बताउनुभयो।

डा. महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताउनुभयो।

‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैनु”, कांग्रेस प्रवक्ता महतले भन्नुभयो, “एमाले र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहिलो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ।”

Share Now

Leave a comment.