Prakash Adhikari February 17, 2023

 

काठमाडौं, ५ फागुन । भारतीय स्थलसेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन्।

नेपाली सेनाको स्थापना दिवस समारोहमा सहभागी हुन उहाँहरू शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएको हो।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग काठमाडौं आइपुग्नुभएको छ ।

पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार बिहान मात्रै काठमाडौं आइपुग्नुहुनेछ ।

फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उहाँहरुले भेटघाट गर्ने कार्यक्रम छ।

सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा पनि भारतीय पूर्वसेनाप्रमुखहरु सहभागी हुनुहुनेछ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ।

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आउनुभएको थियो। नेपाली सेनाले त्यतिबेला उहाँलाई पनि मानार्थ महारथीको सम्मान दिएको थियो।

नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २ सय ६० वर्ष पूरा भएको छ। १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गर्नुभएको थियो।

श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए। यी गणको स्थापना भएको २ सय ६० वर्ष पुगेको अवसरमा सेनाले स्थापना दिवश मनाइरहेको छ।

सेना दिवशको अवसरमा फागुन ५ गते वीर स्मारक छाउनीमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम हुनेछ। फागुन ६ गते सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्ने सेनाको तयारी छ।

सो अवसरमा ५ सय ५५ वटा मादल एकसाथ बजाउँदै विशेष प्रस्तुति गरिनेछ। भारतीय सेना र बेलायती सेनाले पनि विशेष ब्यान्डसहितको प्रस्तुति दिनेछन्। सैनिक मञ्च र छाउनीको स्मारकमा वीरगति प्राप्त सैनिकको सम्झनामा अखण्ड बत्ती बालिनेछ।

फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ।

७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ।

नेपाली सेनाले स्थापना दिवसकै अवसरमा यसअघि विभिन्न कार्यक्रम गरेको थियो।

Share Now

Leave a comment.