Prakash Adhikari February 17, 2023

कीर्तिपुर(काठमाडौं), ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आज भएको खेलमा नेपालले बलियो मानिएको स्कटल्याण्डविरुद्ध ३ विकेटको शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड.रोजेको नेपालले स्कटल्याण्डले दिएको २ सय ७५ को विशाल लक्ष्य १८ बल बाँकी छँदै ७ विकेटको क्षतिमा हासिल गरेको थियो ।

स्कटल्याण्डलाई हराउने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित रहदै १ छक्का र ८ चौकाका मद्दतले सर्वाधिक ८५ रन जोडे । नेपालका कुशल मल्लले ४ छक्का र ९ चौकाका मद्दतले ८१ रन जोडे भने सोमपाल कामीले ३ चौकाका मद्दतले २४ रन जोडे ।

 

आजको खेलमा शीर्षक्रममा रहेका ब्याट्सम्यानहरु कुशल भुर्तेल १६, आशिफ शेख ९,ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ रनमा आउट भएपनि मध्यम क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले नेपालको बेडा पार लगाए । दीपेन्द्रसिंह ऐरी त्यही खेलाडी हुन जो गत बर्ष जुलाईमा स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा म्यान अफ द म्याच भएका थिए । उनी आज पनि म्यान अफ द म्याच भए ।

तल्लो क्रममा रहेका गुल्शन झा र सोमपाल कामीको प्रदर्शन पनि आज उत्कृष्ट रह्यो । शीर्ष क्रमका ब्याट्सम्यानहरु थोरै रनमा आउट भएर नेपालको मनोबल गिरेको अवस्थामा मध्यम क्रमका ब्याट्सम्यानहरुलाई साथ दिने क्रममा गुल्शनले १७ र सोमपाल कामीले २४ रनको योगदान गरे । खेलमा सन्दीप जोराले ५ रनको योगदान गरे ।

शीर्षक्रमका ब्याट्सम्यानहरु आउट भएपछि रन बढाउन नसक्ने नेपाली टोलीको खेलमा यसपटक ब्यापक सुधार भएको देखिएको छ । त्यस्तो सुधार नामिबियाको खेलमा पनि देखियो र स्कटल्याण्डमा झनै स्पष्ट देखियो । २ सय २० रन हुँदा गुल्शन झा आउट भएपछि खेल जित्नका लागि ५५ रन चाहिएको बेलामा ३७.५ ओभरमा मैदानमा उत्रिएर ब्याट सम्हालेका सोमपाल कामीले दीपेन्द्रसिंह ऐरीलाई भरपर्दो साथ मात्र दिएनन् उनले आफै २४ रन जोडेर खेलको अविश्वमरणीय समापन गरे ।

नेपाललाई रोक्ने क्रममा स्कटल्याण्डका क्रिस सोलले ३,मार्क वाटले ३ र माइकल लिक्सले १ विकेट लिएका थिए ।

नेपाललाई २ सय ७५ रनको लक्ष्य

यस पहिले आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा टस हारेर पहिले ब्याटिड. गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९विकेट गुमाउदै १सय ७४ रन जोडेको थियो ।

खेलमा स्कटल्याण्डको लागि माइकल लिक्स्ले ९ छक्का र ३ चौकाका मद्दतले सर्वाधिक १०७ रन जोडे । स्कटल्याण्डका लागि ज्याक जरभिसले २६, क्रिष्टोफन म्याक्ब्राइड र ब्राण्डेन म्याकमुलेनले २२।२२,मार्क वाटले २०, थोमस म्याकिन्टोस र रिच बेरिड.टनले १९।१९,क्रिश ग्रिभले १६, क्रिश सोलले ५ र म्याथु क्रसले २ रनको योगदान दिएका थिए ।

स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालले ९ विकेट लिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, कुशल भूर्तेल,दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १ । १ विकेट लिएका थिए ।

टस जितेर फिल्डिड. रोजेको नेपालका लागि आजको खेलमा पहिलो विकेटको खाता कुशल मल्लले खोलेका थिए । उनले आठौं ओभरको चौथो बलमा स्कटल्याण्डका ओपनर रिच बियरिड।टोनको विकेट लिएका थिए । त्यसपछि १२ औं ओभरको पहिलो बलमा क्रिस्टोफर म्याक ब्राइडको विकेट लिएका थिए । कुशललाई स्कटल्याण्डका दुवै ओपनरको विकेट लिने संयोग जुरेको थियो ।

सन्दीपले १५ औं ओभरको पाँचौ बलमा स्कटल्याण्डका म्याथ्यु क्रसलाई एलबीडब्ल्यु घरापमा पारेका थिएन भने १७ औं ओभरको पहिलो बलमा स्कटल्याण्डका थोमस म्याकिन्टोसलाई एलबीडब्ल्यू धरापमा पारेका थिए । उनले २५ औं ओभरको दोस्रो बलमा स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनको विकेट लिएका थिए ।

नेपालका कुशल ब्याट्सम्यान कुशल भूर्तेलले पनि एक विकेट लिएका छन् । उनले चौबिसौ ओभरको दोस्रो बलमा क्रिप्स् ग्रिभ्सको विकेट लिएका छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४० औं ओभरको तेस्रो बलमा स्कटल्याण्डका ज्याक जारभिसको विकेट लिए ।

खेलमा सोमपाल कामीले ५० औं ओभरको दोस्रो बलमा स्कटल्याण्डका मार्क वाटलाई रन आउट गराए भने अन्तिम ओभरको अन्तिम बलमा क्रिश सोलको विकेट लिए

Share Now

Leave a comment.