काठमाडौँ, ७ फागुुन । एक महिनादेखि बन्द तिब्बती सीमाका नाका चीनले खुुला गरेको छ । चीनले रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुला गरेको हो ।
यी नाकाहरु खुुला भई सामान आयात निर्यात समेत हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि भनेर नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।
चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङ्चुुङ्गोला र हुुम्लाको यारी रहेका छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् ।
२०७२ सालको भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिनुुभयो ।
कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पौष देखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिनुुभयो । “अहिले नाका खुुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उहाँले भन्नुभयो । सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उहाँको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुुला नभएको उहाँले जानकारी दिनुुभयो ।
नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् ।
चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।
(स्रोतः लक्ष्मी सापकोटा /गोरखापत्र )


















