मनामा(बहराइन), १० फागुन । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ।
बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले डा. रुइतलाई अवार्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गत माघ महिनामा डा. रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो ।
उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका हुन् । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।
डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ । यसको साथै उहाँ आफै सक्रिय भएर अन्धोपन निवारणका लागि स्वदेश तथा विदेशमा आँखा उपचार शिविर सञ्चालन गरेर सल्यक्रिया गरी कैंयौलाई पुर्नदृष्टि शक्ति दिनुभएको छ ।
Nepalese ophthalmologist wins Isa Award for Service to Humanity


















