काठमाडौं, १२ फागुन । क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ।
उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि उनले त्यसलाई हटाउने मागदावीसहित बिहीबार सर्वोच्चमा रिट निवेदन दिएका थिए।
एक केटी साथीले आफूहरुबीच सहमतिमा यौनसम्पर्क रहेको तर उमेर १८ बर्ष नपुगेको उजुरी गौशाला प्रहरीलाई दिएपछि मद्दा चलेर जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
२० लाख रुपैयाँ धरौटी र विदेश जान प्रतिबन्ध लगाउने शर्तसहित शर्तसहित उच्च अदालत पाटनले उनलाई रिहाई गर्न आदेश दिएको थियो।
धरौटी बुझाएर रिहाई भएका सन्दीपमाथिको कारबाही फिर्ता लिएको नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्संगको समन्वयमा उनलाई राष्ट्रिय टिममा फर्काएर आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को प्रशिक्षणमा राखेको थियो । उनले हालै कीर्तिपुरमा सम्पन्न आईसीसी लिग २ का चार खेलमा खेलेर नेपाललाई १३ विकेट दिलाएका थिए।
कीर्तिपुरको मैदानमा राष्ट्रिय टिममा आफ्नो अपरिहार्यता साबित गरेका सन्दीप सोमबारदेखि यूएईमा हुने सिरिजमा जानको लागि उच्च अदालतको आदेश बाधक भएपछि सो गाँठो फुकाउन उनले सर्वोच्चमा निवेदन दिएका हुन्।
अदालतको आदेशको सम्मान गर्दै क्यानले सन्दीपको नाम समावेश नगरी युएई जाने नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय टोली शनिबार यूएई प्रस्थान गर्ने तयारीमा छ। सर्वोच्चले सन्दीपविरुद्ध लगाएको प्रतिबन्ध फुकुवा गरे सन्दीपलाई पनि यूएई लैजाने क्यानको तयारी छ।
खतिवडाको एकल इजलासमा पेसी अन्तिममा छ। न्यायाधीश खतिवडा न्याय सम्पादनमा काविल मानिनुहुन्छ । प्रहरी निगरानीमा सन्दीप युएईको खेलमा सहभागी हुन पाउने निर्णय आउन सक्ने संभावना पनि छ । किनकी युएईका चार खेलहरु नेपालको एकदिवसीय मान्यता जोगाउन अहम् महत्व राख्दछन् ।


















