काठमाडौं, १३ फागुन । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगले फागुन २५ गतेका लागि निर्धारण गरेको निर्वाचनका लागि पौडेल र नेम्वाङले फरक–फरक समयमा संसद भवन पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो।
संवैधानिक व्यवस्थाअनुसार पौडेल र नेम्बाड.ले पाँच–पाँच जनता प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराउनुभएको छ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो.अब्दुल खान रहनुभएको छ।
राष्ट्रपतिमा आठ दलका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेस नेता पौडेलको समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे रहनुभएको छ ।
नेकपा एमालेका तर्फबाट राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ।
एमालेका उम्मेद्वार नेम्बाड.को समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ।
वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको थियो।
राष्ट्रपतिका उम्मेदवार पौडेल प्रतिनिधिसभाका र नेम्वाङ संविधानसभाका पूर्वसभामुख हुनुहुन्छ। पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा हुनुहुन्थ्यो ।
नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभाको पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो।
कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अरु कुनै पनि दल खुलेका छैनन्।
यद्यपि, कांग्रेसको समर्थनमा नदेखिएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उनलाई मत दिन सक्ने अनुमान गरिएको छ।


















