दमौली(तनहुँ), १५ फागुन । उच्च अदालत पोखराबाट यौनदूराचारको अभियोगबाट सफाई पाएपछि अभिनेता पल शाह जेलबाट छुटेका छन्।
तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो। पल कारागारबाट छुट्दा उनकी बहिनीले जिम्मेवारी लिएर बुझेकी थिइन।
कारागारबाहिर पलका समर्थक तथा आफन्तहरु ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुरले पनि इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो। तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पललाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन्।
एक नाबालिक गायिकाले अभिनेता शाहले सुटिङका क्रममा यौनशोषण गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए। जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि त्यस्तो केही नभएको भन्दै बयान फेरेकी थिइन्।
यौनशोषणको आरोपको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।
नेपाली युवामाझ सर्वाधिक लोकप्रिय नायक पलले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पूरा गरेर उनलाई रिहाई गरिएको हो ।
रिहाई भएका नायक पल शाह अब काठमाडौँ आउने बुझिएको छ ।


















