काठमाडौ, १८ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी वर्ष श्रीलंकामा हुने आर्यसीसी यू १९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
क्यानले यू १९ टोलीलाई बधाई दिँदै टोलीको सफलताको कदर गरी पुरस्कार रकम दिने घोषणा गरेको हो।
बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि यू १९ विश्वकपमा पुगेके हो।
यसअघि सन् २०१९ मा भएको खेलमा नेपाल युएइएसँग पराजित हुँदै विश्वकपमा पुग्नबाट बन्चित भएको थियो।
त्यसअघि नेपालले सन् २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसयता नेपालले विश्वकप खेल्न पाएको छैन।
नेपालले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रन बनाउँदा अलआउट भयो।
त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो।
नेपाल आईसीसी यु १९ विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगितामा अपराजित रहदै २०२४ मा श्रीलंकामा हुने विश्वकप खेलका लागि चयन भएको हो ।

नेपाल ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रह्यो । युएई ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रतियोगितामा सिंगापुर ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रह्यो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोविनको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।
यसअघि नेपालले २००१, २००३, २००५, २००७ को एसिसी यू१९ कप जितेर नै विश्वकप खेलेको थियो । सन् १९९९ मा भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर पनि विश्वकप खेल्न पाएका थिए । त्यो समय दुई टोलीले विश्वकप खेल्न पाउथे । २०११ मा नेपाल ग्लोबल क्वालिफायरको उपविजेता र २०१५ मा नेपाल ग्लोबल छनोटको विजेता बन्दै विश्वकपमा पुगेको थियो ।
सन् १९८८ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो ।
यसअघि नेपाल २०१९ को एसिया क्षेत्र छनोटमा युएईसँग एक रनले पराजित हुँदै दुई विश्वकप खेल्न पाएको थिएन । २०२१ को एसिया छनोट नभएपछि आइसिसीले पछिल्ला पाँच छनोटको नतिजा हेरेको थियो । त्यहिँ एक रनको हारले नेपाल सोझै विश्वकप खेल्न पाएको थिएन ।
सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन । २०१७ को छनोटमा अफगानिस्तान र २०१९ मा युएईसँग पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । युएईलाई जितको लागि अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै नेपालको विश्वकप सपना पूरा गरेका हुन् । नेपाललाई जित दिलाउन दीपेशले ह्याट्रिकसहित सर्वाधिक पाँच विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रन, तेस्रो खेलमा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।


















