दुबाई(संयुक्त अरब इमिरेट्स), १८ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ।
५० ओभरको खेलमा सुरुमा ब्याटिङ गरेको यूएईले ८ विकेट क्षतिमा २ सय ७ रनमात्र बनाएको थियो।
२ सय ८ रनको लक्ष्य पाएको नेपालले ३१.५ ओभरमा १ सय ३९ रनमात्र बनाउँदै सबै विकेट गुमाएको हो।
आज कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीजस्ता ब्याटर चल्न नसक्दा नेपालले लक्ष्य भेट्टाउन सकेन।
कुशल भुर्तेलले ६ बलमा ५ रनमात्र बनाए भने आसिफ शेखले १६ बलमा १७ रन जोडेका थिए।
त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ६ बलमा शून्य रनमै आउट हुँदा कप्तान रोहित पौडेलले २ बल खेल्दै मैदान छाडे।
त्यसपछि आएका कुशल मल्लले भने ५३ बलमा ६० रनको योगदान गरे। उनीपछि आएका आरिफ शेख १० बल खेलेर शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले २३ बलमा ७ रनमात्रै जोडे।
नेपालका लागि गुल्सन झा र सोमपाल कामीले ४÷४ रनको योगदान गरे। करण केसी २० बलमा ५ रन बटुल्दा सन्दीप लामिछाने २४ बलमा २६ रन बनाउँदै नटआउट रहे।
नेपालले अतिरिक्त ११ रन उपहार पाएको थियो।
नेपाली ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा यूएईका जुनाइद सिद्दिकले ६ ओभरमा ४० रन दिएर २ विकेट झारे। उनीबाहेक रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले ३÷३ विकेट झार्दा सबिल अली र जहूर खानले १÷१ विकेट लिए।
युएईलाई रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपूर्ण विकेट हात पारेका हुन्।
यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।


















