Prakash Adhikari March 2, 2023

धुन्चे(रसुवा), १८ फागुन । रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना (हेडवर्कस्) निर्माणका लागि नदी फर्काउने डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।

रसुवाको आमाछोदिङ्मा गाउँपालिका–१, हाकुमा बाँध निर्माणका लागि ४ सय २० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कङ्क्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको हो ।

सुरुङ निर्माण सम्पन्न भएपछि मङ्गलबारदेखि सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताउनुभयो ।

“आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरसहित सुरुङको जम्मा लम्बाइ १३ दशमलव ५ किलोमिटर रहेकामा अहिलेसम्म चार दशमलव पाँच किलोमिटर सम्पन्न भएको छ । तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो ।

आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण २०७८ पुसदेखि सुरु गरिएको थियो । आयोजना निर्माणमा हाल करिब ७ सय कामदार परिचालित छन् ।

त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–१ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।

 

Share Now

Leave a comment.