Prakash Adhikari April 12, 2023

 

काठमाडौं, २८ चैत्र। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानका लागि बृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधानमा जुट्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताउनुभयो ।

‘यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधि शिथिल छन् । आपूर्ति प्रणाली खल्बलिएको छ । उद्योगी व्यवसायी समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजस्वले साधारण खर्चसमेत धान्न सकिरहेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघको बार्षिक साधारणसभालाई संबोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो , ‘तर अर्थतन्त्रका सबै सरोकारवालाले बेलैमा विचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।’

उहाँले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्रमा लयमा फर्काउन सम्भव रहेको बताउनुभयो । त्यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घटाउने उपकरणको प्रयोग गर्नुपर्ने ढकालको भनाइ छ ।

Share Now

Leave a comment.