Prakash Adhikari April 20, 2023

काठमाडौं, ७ वैशाख । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थ मन्त्रालयमा तीन जना सल्लाहाकार समूह नियुक्त गर्नुभएको छ ।

मन्त्री महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. विश्वनाथ पौडेल, योजना आयोगका पूर्व सदस्य तथा साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)का कार्यकारी अध्यक्ष डा.पोषराज पाण्डे र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख डा. गुणाकर भट्टलाई आर्थिक सल्लाहाकार नियुक्त गर्नुभएको छ ।

डा. पौडेल र डा. पाण्डे दुवै अवैतनिक सल्लाहकारका रुपमा रहनुहुने जनाइएको छ । तर दुवैलाई राज्यमन्त्री सरहको पदमा नियुक्त गरिएको छ ।

डा.पौडेल शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ साउनमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट कृषि अर्थशास्त्रमा विद्यावारिधी उपाधि प्राप्त गर्नुभएका डा.पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को नेपाल कार्यालयमा आर्थिक सल्लाहकारको रुपमा पनि काम गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन समेत गर्नुहुने डा. पौडेललाई नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन १ मा उम्मेदवार बनाएको थियो ।

यता अर्थशास्त्रमा विद्यावारिधी र बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गर्नुभएका डा.पाण्डे दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा रहेर अध्यापन गरिसक्नुभएको छ । नेपाललाई विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनाउने पक्षमा वार्ताकार रहनुभएका पाण्डेले बहुपक्षीय व्यापार एकीकरण र क्षमता अभिवृद्धिका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)मा रहेर काम गरिसक्नुभएको छ ।

 

Share Now

Leave a comment.