Prakash Adhikari April 23, 2023

काठमाडौं, १० वैशाख । तनहुँ १, चितवन २ र बारा २ मा आइतवार भएको प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ।

निर्वाचन अधिकारीहरुका अनुसार तनहुँ १ मा ५१ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभएको छ ।

उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता थिए।

सबै बुथको मत प्राप्त भएप्छि तनहुँको जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने कार्यक्रम रहेको छ।

तनहुँ १ मा ९ जना उम्मेदवार छन्। जहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ।

यस्तै, बारा २ मा झण्डै ५६ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत एवम् बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायका अनुसार केही मतदाता लाइनमा रहेकाले यो संख्या बढ्छ।

‘पाँच बजेसम्म ५६ प्रतिशत मत खसेको छ, केही मतदान केन्द्रमा छिटफुट मतदान जारी छ,’ उहाँले भन्नुभयो, ‘तथ्यांक आउँदैछ केही बढ्छ।’

बारा २ मा १ लाख ५ हजार २ सय ४८ मतदाता छन्। उपनिर्वाचनमा मंसिरको निर्वाचनमा भन्दाकम मत खसेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसहित बारा २ को उपचुनावमा ३४ जना उम्मेदवार छन्।

उता, चितवन २ मा पाँच बजेसम्म ७३ हजार ३ सय ५९ जनाले मतदान गरेका छन्।

निर्वाचन आयोगका अनुसार केही केन्द्रमा अझै मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेपछिसम्म जारी रहेको थियो। केही मतदान केन्द्रमा कार्यकर्ताहरुको विवादका कारण केही समय मतदानस्थगित भएकोले मतदानको समय लम्बिन गएको हो ।

गत मंसिर ४ मा भएको चुनावमा यी तीनै क्षेत्रमा बढी मत खसेको थियो।

Share Now

Leave a comment.