काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल आज कतारसँग भिड्दै छ।
खेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
समूह ए मा रहेको नेपालले समूह विजेता बन्दै सेमिफाइनल खेल्न कतारलाई हराउन पर्नेछ।
यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकमा समूह विजेता बन्नेछ। खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेशका लागि खेल्नेछ।
समूह ए बाट ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ।
आजै मूलपानी क्रिकेट मैदानमा हुने हङकङ र कुवेतबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। यो खेलसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लाग्नेछ। समूह बी बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछन्। दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ।
प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ।
शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छन् ।


















