काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतसामु २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको छ । वर्षाको कारण ८.८ ओभर घटाइएको खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा एक रन लक्ष्यमा घट्न पुगेको हो ।
खेलमा नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए । उनी शतक बनाउन ६ रनले चुके । ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट हुनुपुगेका थिए ।
चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको सानदार शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका थिए ।
कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा कप्तान मोहम्मद अस्लामबाट क्याच आउट भए । उनी सैयद मोनिबको बलमा ठूलो सट खेल्ने धुनमा एक्स्ट्रा कभरमा समातिन पुगेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । कुशल स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएपछि नेपालले पहिलो विकेट गुमाएको थियो ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए ।
नेपालका आरिफ शेख स्पिनर यासिन पटेलको ३६ औं ओभरको दोस्रो बलमा १९ रनमा स्टम्पिङ आउट भए । उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे । एक बलपछि दीपेन्द्रसिंह ऐरी कट विहाइन्ड हुँदै डक आउट पेभेलिएन फर्किए । सोमपाल कामी १३, करण केसी ७, सन्दीप लामिछाने ५ र ललितनारायण राजवंशीले २ रन बनाए ।
नेपाललाई रोक्ने क्रममा कुवेतका कप्तान मोहम्मद अस्लामले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदनान इद्रिसले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । स्पिनर यासिन पटेलले ९ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । सैयद मोनिबले एक विकेट लिए ।


















