Prakash Adhikari April 30, 2023

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गर्नुभएको छ ।

“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति अर्यालले भन्नुभयो ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा सभापति लामिछानेलाई बधाई दिनुभएको थियो ।
कार्यसमिति र संसदीय दलको बैठक भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिनु भएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो । भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.