Prakash Adhikari May 1, 2023

कीर्तिपुर(काठमाडौं), १८ वैशाख ।नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध कसिलो बलिड. गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको छ ।

खेलमा युएईका आसिप खान सर्वाधिक ४६ रन बनाए । उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

लगत्तै अर्को बलमा जहूर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाकिएको छ । टियुमा अहिले सामान्य वर्षा भएको छ । उनले चौथो बलमा विकेट लिएमा ओडिआईमा ह्याट्रिक पूरा गर्ने नेपालको पहिलो खेलाडी बन्नेछन् । नेपाली बलिङ सामू युएईका कुनैपनि खेलाडी क्रिजमा धेरै समय टिक्न सकेनन् । आसिफ खान बाहेक अन्य कुनैपनि खेलाडीले १५ रन कटाउन सकेनन् ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट गराए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिम र आर्यन लाक्राले १७ रनको साझेदारी गरेका थिए ।

यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन्।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१.५ को दयनीय अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि आसिफ खान र बसिल अहमिदले ३९ रनको साझेदारी गरेका थिए । गुलशन झाले २३ औं ओभरको पाँचौं बलमा बसिललाई १० रनमा बोल्ड आउट गरेका थिए । उनी एज लागेर बोल्ड हुन पुगेका थिए । सन्दीप लामिछानेले प्रहार गरेको २६ औं ओभरको चौथो बलमा युएईका आयन खान डिप स्क्यार लेगमा कुशल मल्लबाट ५ रनमा आउट भए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएका छन् । सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिएका छन् । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले समान एकएक विकेट लिएका छन् ।

Share Now

Leave a comment.