काठमाडौं, २० वैशाख । सरकारले हालै नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टिमका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई प्रोत्साहन पुरस्कार दिने भएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख २४ गते संघीय संसदको बजेट अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
क्याबिनेटले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ ।
सरकारले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय पनि गरेको छ ।


















