काठमाडौं, २८ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजार परिसूचक ३.३४ अङ्कले ओरालो लागेर १८३८.५९ बिन्दुमा झरेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहका कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।
आज कूल २१ लाख ५ हजार ६ सय ५७ कित्ता शेयरको खरिदबिक्रीबाट रु ५७ करोड ८८ लाख ४१ हजार छ सय ९३ रुपैयाको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमा कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १ सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३ करोड १५ लाख ६ हजार ३ सय ६३ बराबरको शेयर कारोबार भएको छ ।
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु २ करोड ७० लाख ८४ हजार ८ सय ४, शिवम् सिमेन्ट रु १ करोड ८० लाख ३७ हजार ७ सय ५२, हिमाल दोलखा हाइड्रोपावर रु १ करोड ७७ लाख ६३ हजार ४ सय १० र हिमालयन डिस्टिलरीको रु १ करोड ६८ लाख ७८ हजार ७ सय ५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेका विवरण अनुसार आत्मनिर्भर लघुवित्त ६.१०, सिटिजन म्युचुअल फण्ड पहिलो ५.८९, मनकामना स्मार्ट लघुवित्त ५.७१, इस्र्टन हाइड्रोपावर ५.६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स ५.९९, बाराही हाइड्रोपावर ५.५२, एशियन हाइड्रोपावर ५.५२, बलेफी हाइड्रोपावर ४.३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ४.३४ प्रतिशतले घटेको छ ।


















