काठमाडौं, १० वैशाख । साताको चौथो कारोबार दिन बिहीवार पनि नेपालको शेयर बजारमा गिरावट आएको छ ।
यस दिन नेपालको धितोपत्र बजार परिसूचक १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.९४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ८१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४८ स्टकको १ करोड १३ लाख ७५ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाल्पा सिमेन्ट र शिखर पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। पछिल्ला दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य यस दिन सर्वाधिक ११.७९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ४२ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने होटल फरेष्ट इनको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसुचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


















