Prakash Adhikari May 12, 2023

 

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान वार्ता भएको छ।

प्रधानमन्त्री दाहाललाई भेटन सांसद लामिछाने बिहान साढे ८ बजे बालुवाटार पुग्नुभएको थियो।

भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभएको थियो।

जवाफमा प्रधानमन्त्रीले अरु पनि धेरैका फाइल खोल्न सरकार तयार रहेको बताउँदै रविलाई सरकारमा आउन आग्रह गर्नुभएको थियो ।

सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताउनुभएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन यही वैशाख २२ गते मात्र फिर्ता लिएको थियो।

रास्वपाले सभापति लामिछाने नागरिकता काण्डमा अदालतबाट दोषि देखिएर उपप्रधानमन्त्री र सांसद पद गुमाएपछि सरकार छोडेको थियो ।

तर समर्थन भने यही वैशाख १० गते चितवन २ मा भएको उपचुनाव लडेर सभापति लामिछाने फेरि प्रतिनिधिसभा सदस्य पदमा पुनःनिर्वाचित भएर आएपछि छोडेको हो।
यसबीच प्रधानमन्त्री प्रचण्डले रविलाई सरकारमा आउन आग्रह गरे पनि पहिलेकै मन्त्रालयहरु नपाउने निश्चित देखेपछि रास्वपाले समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

Share Now

Leave a comment.