काठमाडौं, ३ जेठ । नेपाल प्रहरीले पहिलो पटक सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्षका अवसरमा आयोजित कार्यक्रम अन्तरगत यो आरोहण सम्पन्न गरेको हो । नेपाल प्रहरीको प्र तिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्नुभएको छ ।
उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको मुख्यालयको झण्डा फहराउनु भएको थियो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामना लिएर प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।
पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६ हजार ९ सय २० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६ हजार १ सय १९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।
नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।
यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास नेपाल प्रहरीले लिएको छ ।


















