Prakash Adhikari May 22, 2023

काठमाडौं, ८ जेठ । वैशाख २२ गते सुरक्षाकर्मीसमेत नलिइ भारत भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह लखनउबाट विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेको खुलासा भएको छ।

दिल्लीमा पूवराजा शाहले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा छलफल गर्नुभएको थियो ।

डोभालसंगको भेटपछि पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भेट गर्नुभएको बताइन्छ।

आफ्नो पश्चिम नेपालको भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रले वर्तमान व्यवस्था विरुद्ध आक्रामक अभिव्यक्ति दिइरहनुभएको छ ।

पूर्वराजा शाह वैशाख २२ गते शुक्रबार स्थलमार्ग हुँदै निजी भ्रमणका लागि भन्दै भारतको लखनउ जानुभएको थियो । लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजाकै हैसियतमा पूर्वराजालाई स्वागत गर्नुभएको थियो।

नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेपछि भारत पुगेका पूर्वराजा र भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीचको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ।

मुख्यमन्त्री योगीकै पहलमा प्रधानमन्त्री मोदीसँग एक घण्टा पूर्वराजाको गोप्य भेटघाट भएको स्रोतको दाबी छ।

नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आउनुभएको थियो। कोरोनाकालमा समेत भारत भ्रमण गरेर भारतीय हिन्दुका असल मित्रको रुपमा पूर्वराजा ज्ञानेन्द्रले आफूलाई स्थापित गरिसक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पौष १० गते सत्तारोहण गरेदेखि भारत भ्रमणको औपचारिक निमन्त्रणाको प्रतिक्षामा हुनुहुन्छ । तर सडकमा रहनुभएका राजा ज्ञानेन्द्रले दिल्ली दरबारमा पहिलो प्राथमिकता पाउनुभयो । यसले नेपालको वर्तमान सत्ता मात्र होइन, व्यवस्थामा नै प्रश्न उठाउने स्थान दिएको छ ।

भारतको कर्नाटकमा भएको निर्वाचनमा हिन्दुवादी भारतीय जनता पार्टीका हार र भारतीय राष्ट्रिय कांग्रेसको विजयले भारतीय जनता पार्टी नेपालमा आफ्नो अनुकूलको शासन र शासक चयनको दवावमा रहेको देखिन्छ । अन्य राज्यको विधान सभामा पनि दक्षिणको हावा सर्यो र आगामी लोकसभामा पनि कांग्रेस बौरेर आयो भने भाजपाको नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान तुहिने निश्चित छ । यसैले भारतीय जनता पार्टी नेपालमा आफू अनुकूलको शासन व्यवस्था र शासकको खोजीमा छ । नेपालमा गणतन्त्रको स्थापना कांग्रेस आईको शासनकालमा भएकोले भारतीय जनता पार्टी यो व्यवस्था र यसलाई संस्थागत गरेको नेपालको संविधानसंग पनि खुसी छैन भन्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेपछि पूर्व राजाले अहिलेको व्यवस्था नेता केन्द्रित भएको भन्दै पुरानै गौरव फर्काउन आह्वान समेत गर्नुभएको थियो ।

नेपालगञ्जको अभिनन्दन सकेपछि लखनउमा केही दिन बिताउनुभएका पूर्वराजा त्यहाँबाट विमान चार्टड गरेर दिल्ली पुग्नुभयो। दिल्लीबाट लखनउ हुँदै स्थलमार्गबाट पूर्व राजा शाह जेठ १ गते सोमबार साढे ४ बजे नेपालगञ्ज फर्किएका थिए।

शनिबार धनगढीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो। तर उक्त कार्यक्रम स्थगित भएपछि सोमबार (आज) नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको पूर्वराजका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभएको छ।

संवाद सचिव पाठकका अनुसार पूर्वराजको धनगढीमा नागरिक अभिनन्दनपछि मंगलबार अत्तरियामा राजा महेन्द्रको शालिक अनावरण गर्ने कार्यक्रम छ।

Share Now

Leave a comment.