काठमाडौं, १० जेठ । नेपालले एएफसी यू २३ एसिया कप छनोटमा भाग नलिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक कारण जनाउदै यू २३ मा भाग नलिने घोषणा गरेपछि खेल क्षेत्रमा यो अपरिपक्व निर्णयको विरोध भएको छ ।
एन्फाले खेलको खर्च आफैले ब्यहोर्नुपर्ने भएको र प्राथमिकताका आधारमा यू २३ भन्दा अन्य प्रतियोगिता रहेकोले भाग नलिने निर्णय गर्नुपरेको बताएको थियो ।
एन्फाका पदाधिकारीहरुले प्राथमिकतामा राष्ट्रिय टोलीले खेल्ने विश्व कप छनोट र साफ च्याम्पियनसिप भएको र त्यसमा पनि अधिकांश खेलाडी यू २३ कै भएकोले अहिलेको यु २३ छनोटमा भाग नलिने निर्णय भएको तर्क दिंदै आएका छन् ।
एएफसी यू २३ च्याम्पियनसिप अर्को वर्ष कतारमा आयोजना हुँदैछ । यही भदौ १८ गते देखि २६ गते सम्म छनोट चरणको खेल हुने भएकोे छ । एसियाली फुटबल महासंघ (एएफसी) ले यू २३ छनोटका लागि कतार बाहेक ४३ देशको नाम सार्वजनिक गर्दा त्यसमा नेपालको नाम छैन । छनोटको ड्र बिहीबार हुँदैछ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनले आर्थिक कारणले यू २३ को टोलीलाई सहभागित नगराउने एन्फाको निर्णय लाजमर्दो भएको बताउनुभएकोे छ । उमेर समूहको प्रतियोगितामा खेलाडीहरु खारिएर राष्ट्रिय टिम बलियो हुने गर्दछ । यू १९ साफ च्याम्पियन टोलीका प्रशिक्षक रहिसक्नुभएका बालगोपाल महर्जनले पैसा छैन भनेर भाग नलिने निर्णय लाजमर्दो भएको र यसरी नेतृत्वमा बस्न नैतिकताले पनि नदिने बनाउनुभएको छ ।
महर्जनले युवा टोलीलाई सहभागी गराउन पैसाको अभाव हुने तर पदाधिकारीहरुले लाखौं रुपैयाँ सम्म तलब लिन पैसाको अभाव नहुने भन्दै प्रश्न गर्नुभएको छ ।
अघिल्लो पटक उज्वेकिस्तानमा भएको छनोटमा नेपालले इरान, ताजकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गरेको थियो ।


















