Prakash Adhikari April 12, 2018

जनकपुरधाम(धनुषा), २८ चैत । प्रदेश नं २ मा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिएको छ। बुधबार बसेको प्रदेशसभाको १२औँ बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश नं २ को सरकारको नीति तथा कार्यक्रममा कृषि, उद्योग तथा पर्यटनको विकासमा विशेष जोड दिने गरी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति तय गरिने उल्लेख छ। यसका साथै वैदेशिक रोजगारीमा जाने युवाबाट प्राप्त भएको रेमिट्यान्सको प्रयोगलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहन गर्ने नीति लिइएको छ।

प्रदेश–२ क्षेत्रफलको हिसाबले सानो भएपनि जनसंख्याको हिसाबमा ठूलो रहेको तथा यस क्षेत्रमा वर्षौंदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड, वीरगन्ज चिनी कारखाना उद्योग, कृषि औजार कारखाना सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय र सहकार्य गरेर उद्योगहरु सञ्चालन गरी स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने प्रदेश सरकारको नीति छ।

प्रदेश सरकारले प्रदेशमा बन्द हडताल चक्काजामलगायतका कार्यक्रममा निरुत्साहित गर्ने कुरा नीति तथा कार्यक्रममा ल्याएको छ ।
सरकारले कृषिमा आधारित उद्योगको स्थापना गर्ने, सिँचाइका लागि सुनकोसी कमला डाइभर्सन र बागमती नदी तथा नारायणी नदी पानीलाई उपयोग गर्दै खेत–खेतसम्म पुर्‍याउन प्रदेश सरकारहरुले संघीय सरकार तथा स्थानीय निकायसँग समन्वय र सहकार्य गरेर खेतखेतमा सिँचाइ पुर्‍याउने नीति लिएको छ।

प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको धार्मिक स्थलहरुको विकास, सौन्दर्यीकरण गरेर स्थानीय लोकनाच, लोकवाजा, लोक रीति(संस्कृति, तथा परम्परा संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले कामकाज गर्ने नीति तथा कार्यक्रममा समेटेको छ।

प्रदेशमा अर्गगानिक माछा उत्पादनमा जोड दिँदै घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवाहरुलाई सहुलियत दरमा बैंकबाट ऋण प्रवाह गराई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने नीति लिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुर अञ्चल अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुको साथै जनकपुरको जानकी मेडिकल कलेज तथा नेशनल मेडिकल कलेजको स्तर सुधारका लागि अध्ययन समिति गठन गर्ने उल्लेख रहेको छ।

सरकारले प्रदेश लगानी वोर्ड गठन गरी वीरगंज– पथलैया, जलेश्वर–जनकपुर–ढल्केवर र रोपनी–राजविराज क्षेत्रलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्ने नीति तर्जुमा गर्ने नीति लिएको छ।

प्रदेश सरकारले निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणमा सहयोग गर्ने, हुलाकी राजमार्गको कार्यलाई उच्च प्राथमिकता दिने पनि जनाएको छ ।

प्रदेश सरकारले ‘बेटी पढाऊ र बेटी बचाऊ’ अभियानलाई सफल बनाउनका लागि विभिन्न वीमा कम्पनीहरु साझेदारीमा छोरीहरुको शिक्षा बीमा नीति ल्याएर छोरीको हत्या गर्नेलाई कडा कानुनको निर्माण गर्ने नीति अघि सारिएको छ।

प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयनका लागि संघीय सरकारलाई सघाएर योजनाहरुलाई समयमा नै सम्पन्न गराउने वातावरण तयार पारिने प्र्रतिबद्धता पनि नीति तथा कार्यक्रममा रहेको छ ।

Share Now

Leave a comment.