Prakash Adhikari June 7, 2023

दक्षिणकाली(काठमाडौं), २२ जेठ । नेपाल पर्वतारोहण संघले विश्व वातावरण दिवसको अवसरमा दक्षिणकाली नगरपालिका वडा नं ५ मा पर्ने शेषनारायण मन्दिर परिसर र डोल्लु सामुदायिक बनको पिकनिक स्थलको सरसफाई गरेको छ ।

नेपाल पर्वतारोहण संघको वातावरण संरक्षण समितिको आयोजनामा दक्षिणकाली नगरपालिका वडा नं ५ तथा डोल्लु सामुदायिक वन समितिको सहभागितामा सो सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो ।

शेषनारायण मन्दिर परिसरमा सरसफाई कार्यक्रमको शुभारम्भ मन्तव्य प्रकट गर्दै दक्षिणकाली नगरपालिका वडा नं ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीले शेषनारायण मन्दिर जस्तो ऐतिहासिक र पवित्र स्थलमा सरसफाई कार्यक्रम आयोजना गरेकोमा नेपाल पर्वतारोहण संघलाई धन्यवाद दिदै यस क्षेत्रलाई प्रदूषणमुक्त स्वच्छ सफा र सुन्दर बनाउन अग्रसर रहने हरेक संघ संस्थालाई आफ्नो वडाले सदैव स्वागत गर्ने बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै नेपाल पर्वतारोहण संघका सचिव धनबहादुर गुरुड.ले संघको वातावरण समितिले विश्व वातावरण दिवसमा हरेक बर्ष वृक्षारोपण र सरसफाई कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विगतमा नेपाल पर्वतारोहण संघले हिमाल सरसफाईको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै संघले ऐतिहासिक,धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थलहरुको सरसफाईलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो ।

वडाध्यक्ष खत्री र सचिव गुरुड.ले सरसफाई कार्यक्रमको शुभारम्भ झाडू लगाएर गर्नुभएको थियो । नेपाल पर्वतारोहण संघको वातावरण संरक्षण समितिको सरसफाई टोलिले शेषनारायण मन्दिर परिसरमा संकलन गरेको फोहरजन्य पदार्थ वडाध्यक्ष खत्रीलाई जिम्मा दिनुको साथै सो क्षेत्रलाई सफा राख्नका लागि दुईवटा ठूला खालका डष्टविन हस्तान्तरण गरेको थियो ।

शेषनारायण मन्दिर परिसर सरसफाई पछि सो टोली नेपाल पर्वतारोहण संघको रक क्लाईम्बिड. स्पटहुदै डोल्लु सामुदायिक बन पिकनिक स्थल सरसफाईमा जुटेको थियो ।

सो क्षेत्रमा भएका प्लाष्टिक, कागज र सिसाजन्य पदार्थहरुको संकलन गरेर ती फोहर मैला डोल्लु सामुदायिक वन संरक्षण तथा उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।

संघको वातावरण संरक्षण समितिले डोल्लु सामुदायिक वनको पिकनिक क्षेत्रलाई सफा राख्नका लागि दुईवटा ठूला खालका डष्टविन वन समितिलाई हस्तान्तरण गरेको थियो ।

सरसफाई कार्यक्रमको समापनका अवसरमा वातावरण संरक्षण समितिका संयोजक सिड.गी लामाले विश्व वातावरण दिवसमा आयोजित कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएर सफल बनाइदिनुभएकोमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समापन समारोहलाई संबोधन गर्दै पर्वतारोहण संघका सचिव धनबहादुर गुरुड.ले सरसफाई कार्यक्रम सञ्चालन गर्ने अनुमति दिने दक्षिणकाली नगरपालिका वडा नं ५ र डोल्लु सामुदायिक वन संरक्षण तथा उपभोक्ता समितिलाई सहकार्यकालागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा संघको प्रशिक्षण समितिका रामकाजी तिवारीले म प्लाष्टिक भन्ने पुस्तिका दक्षिणकाली नगरपालिकाका वडाहरुमा पुर्याउन वडासदस्यहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

विश्व वातावरण दिवसको यस बर्षको नारा ‘प्लाष्टिक प्रदूषणको समाधान’ भन्ने रहेको थियो । नेपालमा भने त्यसलाई स्थानीयकरण गरेर ‘प्लाष्टिकजन्य पदार्थ निमूल पारौ, उपयुक्त विकल्पको प्रयोग गरौं ‘भन्ने नारा जुराइएको छ ।

Share Now

Leave a comment.