Prakash Adhikari June 6, 2023

काठमाडौं, २२ जेठ(बीबीसी) । यो वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न गएकामध्ये कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ। पाँच जना हराइरहेको अधिकारीहरूले बताएका छन्। हराएका व्यक्तिको अवस्था अझै अज्ञात छ।

वैशाख ३० गते यो याममा पहिलो पटक सर्वोच्च शिखरमा पर्वतारोहीहरू पुगेका थिए। त्यसपछि जेठ १२ सम्म विभिन्न दिनमा पर्वतारोहीहरू सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेको अधिकारीहरूले बताएका छन्।

यस पटक चुचुरोतिर जान अनुकूल मौसम भएको समयावधि अर्थात् ‘समिट विन्डो’ तुलनात्मक रूपमा लामो थियो। तर मृत्यु र बेपत्ता भएका १७ घटनामध्ये आधाभन्दा बढी ८ हजार मिटरमाथिको डेथ जोन मा भएको देखिन्छ।

सगरमाथा आरोहण अनुगमन समितिका संयोजक खिमलाल गौतमले यस पटक हिउँदमा पर्याप्त हिमपात नभएको र ढिलो परेको हिउँ छिटै पग्लिएको हुँदा आरोहणका बेला निकै चिसो अनुभव गरिएको बताउनुभयो।

“मौसमी पूर्वानुमान र वास्तविक अवस्थामा यस पटक धेरै फरक देखियो”, गौतमले भन्नुभयो।

सर्वाधिक अनुमति तर जाम भएन
यस पटक सगरमाथा आरोहणका लागि नेपाल सरकारले ४ सय ७८ वटा अनुमतिपत्र जारी गरेको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक हो।

सगरमाथा आरोहणमा ४४ देशका पर्वतारोही र तिनलाई सघाउन नेपाली शेर्पाहरू संलग्न थिए।

पर्वातारोहीको सङ्ख्या धेरै भए पनि यस पटक सगरमाथामा घातक ट्राफिक जामको अवस्था भने नदेखिएको दाबी पर्यटन विभागका अधिकारीहरूले गरेका छन्।

तर यसै पटक आरोहण गरेका एक शेर्पाले जेठ ४ र ५ गते क्याम्प फोर भन्दामाथि आरोहीहरूको ठूलो चाप देखिएको बीबीसी न्यूज नेपालीलाई बताए।

“यसपालि चिसो धेरै हुँदा पहिलेको जस्तो जाम भएन। तर धेरै बेर नहुँदा पनि धेरै दुस्ख भयो”, मिङ्मा नोरु शेर्पाले भन्नुभयो । उहँले यसपालि दशौँ पटक सगरमाथा आरोहण गर्नुभयो।

“चिसो यति धेरै भयो कि अक्सिजन लिने मास्कमा समेत बरफ जमेर सास लिन गाह्रो भयो, धेरै पटक खोल्दै सफा गर्नुपर्ने भयो। अक्सिजन हाई(उच्च मात्रा) मा खानुपर्‍यो।”

कहाँ भयो पर्वातारोहीको मृत्यु ?
सगरमाथामा मृत्यु पुष्टि भएकामध्ये आठ जना चुचुरोसम्म पुगेका थिएनन्। अरू चार जनाको मृत्यु सर्वोच्च शिखरबाट फर्किने क्रममा भएको सरकारी विवरणले देखाउँछ।

पर्यटन विभागको उक्त विवरणअनुसार सबैभन्दा तल झन्डै ६ हजर ४ सय मिटरको उचाइमा पर्ने क्याम्प टू देखि सबैभन्दा माथि झन्डै ८ हजार ८ सय मिटरको उचाइमा अवस्थित हिलरी स्टेपसम्ममा पर्वतारोहीको ज्यान गएको देखिन्छ।

त्यसैगरी आरोहणका लागि तयारी गरिरहेकै बेला एक महिला पर्वतारोही आधार शिविरमा बिरामी भएपछि उनलाई हेलिकप्टरबाट उद्धार गरेर लुक्ला लगिएको थियो। तर उनको पनि मृत्यु भयो।

ती भारतीय आरोही त्यसअघि उचाइमा अनुकूल हुनका लागि खुम्बु आइसफलको माथिल्लो भागसम्म पुगेर फर्किएकी थिइन्।

मिङ्मा नुरु शेर्पाले जेठ ४ गते चुचुरोमा पुग्दा आफूले धेरै जनाले अक्सिजन मास्क फुकालेर सफा गर्दा आत्तिएको र दुईचार मिनेट अक्सिजनबिना बस्दा उनीहरूलाई अप्ठ्यारो महसुस भएको देखेको बताउनुभयो।

“धेरैको अनुहार कालो भएको देखिन्थ्यो। मौसम यति छिटोछिटो परिवर्तन भइरह्यो कि आरोहीहरू अक्सिजनको मात्रा मिलाउँदामिलाउँदै भनेको समयमा चुचुरोमा पुग्न सकेनन्। एकैछिन मौसम सफा भए जस्तो देखिने, एकैछिनमा हावा लाग्न थाल्ने भयो”, शेर्पाले भन्नुभयो।

उहाँले त्यहाँ भिडभाड धेरै भएको भनेकै दिन जेठ ४ मा ८ हजार मिटर आसपास पर्ने साउथ कोलमा एक जना र चुचुरो नजिकैको साउथ समिटमा अर्का एक जनाको मृत्यु भएको थियो।

जेठ ५ मा आरोहण गरेर फर्कँदा साउथ समिट, साउथ कोलमा एकएक जनाले ज्यान गुमाए भने त्यसै दिन क्याम्प फोरमा एक जनाको शिखरमा नपुगी मृत्यु भएको पर्यटन विभागको विवरणले देखाउँछ।

हराइरहेकामध्ये दुई नेपालीहरू अन्तिम पटक चुचुरोनजिकै अवस्थित साउथ समिटमा देखिएका थिए। तीमध्ये एक जना शेर्पा हुन्।

उनीहरू सगरमाथाको शिखरबाट फर्किँदै थिए।

चिसो धेरै हुँदा कतिपय आरोहीहरूले आफ्नो शरीरलाई न्यानो बनाइराख्न उच्च मात्रामा अक्सिजन खपत गर्ने र त्यसले छिट्टै त्यो सकिने जोखिम रहने बताइन्छ।

शरीरबाट उत्पन्न हुनेभन्दा निस्किने ताप बढी हुँदा मानिसमा हाइपोथर्मिया अर्थात् अल्पतापको अवस्था आउने सम्भावना हुन्छ। त्यस्तो अवस्था हुने व्यक्तिलाई दुर्बलता र भ्रम हुन सक्छ।

उच्च हिमाली क्षेत्रयमा प्रायः देखिने त्यस्तो अवस्थालाई इङ्गित गर्दै पर्यटन विभागका पर्वतारोहण हेर्ने निर्देशक युवराज खतिवडाले समेत प्रतिकूल मौसम हुँदा आरोहीहरूमा शारीरिक दुर्बलता हुने सम्भावना धेरै देखिएको विवरण आएको बताउँछन्।

यो यामको सगरमाथा आरोहण सुरु हुनुअघि चैत २९ गते खुम्बु आइसफलमा हिमपहिरोका कारण हराएका तीन शेर्पाको अवस्था पनि अझै अज्ञात छ।

पर्यटन विभागका निर्देशक खतिवडाले ती ठाउँमा विद्यमान भौगोलिक र मौसमी जटिलताका कारण उनीहरू जीवितै फेला पर्ने सम्भावना नभएको बताउनुभएको छ।

ूत्यस्तो ठाउँमा यतिका दिन अवस्था अज्ञात रहँदा बाँच्ने सम्भावना नै देखिन्न। तर आफैँले नदेखेसम्म घोषणा गर्न सक्दैनौँ,ू उहाँले भन्नुभयो।

मौसमका कारण सकस
नेपाल पर्वतारोहण सङ्घ एनएमएका अध्यक्ष निमानुरु शेर्पाले यस पटकको आरोहणमा व्यवस्थापकीय कमजोरीभन्दा पनि अन्य समस्या देखिएको बताउनुभयो।

“मौसमले गर्दा केही टोलीले क्याम्प फोरमा दुई रातसम्म बिताउनुपर्ने अवस्था आइपर्‍यो,ू शेर्पाले भन्नुभयो, ूत्यसो गरेर चुचुरो पुग्न जोड गर्नु भनेको खतरा निम्त्याउनु हो।”

यस पटक विदेशी पर्वतारोही र आरोहणमा सघाउने शेर्पाहरूसहित ६ सयभन्दा धेरै मानिसहरू चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

तर त्यही मौसमी प्रतिकूलताले गर्दा दर्जनौँ उद्धार र १०० जनाभन्दा धेरैमा हिउँले खाने समस्या आएको’ पर्यटन विभागका निर्देशक खतिवडाले बताउनुभयो।

“हामीले यी सबै मृत्यु र बेपत्ताको सम्भावित कारण सहितको प्रतिवेदन सम्बन्धित कम्पनीबाट बुझ्न थालिसकेका छौँ। त्यसको समीक्षा गरेर आगामी वर्षमा त्यसलाई नदोहोर्‍याउनेगरी काम गर्छौँ “, उहाँले भन्नुभयो।

उच्च मृत्युको वर्ष
विगत दुई दशकका घटनामध्ये सन् २०१४ मा खुम्बु आइसफलमा आएको हिउँपहिरो र सन् २०१५ मा भूकम्पले गर्दा सगरमाथा आधार शिविरसम्मै आएको पहिरोले पुर्‍याएको क्षतिलाई ठूलो घटना मानिन्छ।

सगरमाथामा सन् २०१४ मा १६ र सन् २०१५ मा १८ जनाको मृत्यु भएको थियो।

तर छुट्टाछुट्टै घटना धेरै भएर सन् २०१९ मा सगरमाथामा ११ जना (नेपालतर्फ नौ जना) ले ज्यान गुमाएका थिए।

आरोहण सुरु हुनु अगावै खुम्बु आइसफल क्षेत्रमा गएको हिउँपहिरोमा परेर तीन जना हराएका थिए।

सन् १९९६ मा एउटा ठूलो हिउँआँधी आएको थियो। अरू घटनामा समेत गरी त्यो वर्ष वसन्तयामभरि १५ जनाले ज्यान गुमाएका थिए।

त्यसअघि सन् १९८८ र १९८२ मा क्रमशः १० र ११ जनाले सगरमाथामा ज्यान गुमाएको ‍विवरण आरोहणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने पर्वतारोही तथा ब्लगर एलन आर्नेटको वेबसाइटमा छ।

सगरमाथामा भएका घटनासँग सम्बन्धित एकीकृत तथ्याङ्क नेपाल सरकारको कुनै पनि वेबसाइटमा भेटिँदैन।

दुई पटक सगरमाथाको आरोहण गरिसकेका सम्पर्क अधिकृत गौतम भन्नुहुन्छ, “यस पटक खुम्बु आइसफलमा सुरुमै तीन जना शेर्पा हिमपहिरोमा परेकोबाहेक अरू घटना छुट्टाछुट्टै हुन् र यो सगरमाथा आरोहण इतिहासकै एउटा कहालीलाग्दो वर्ष हो।”

सन् १९२२ यताको विवरणमा सगरमाथाको नेपाल र तिब्बततर्फबाट भएका आरोहणमा ३ सय जनाभन्दा धेरै आरोहीको मृत्यु भएको छ।

तीमध्ये झन्डै ४० प्रतिशत शेर्पा छन्।

Share Now

Leave a comment.